फिदिम : नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं ३ आरुबोटेमा स्थानीयमा कायम त्रास हटाउन प्रहरी टोली क्रियाशील छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पाँचथर तथा मातहतका एकाइबाट खटिएको टोलीले स्थानीयलाई त्रासमुक्त हुन, पूर्ववत् काममा फर्कन सहयोग पुर्याइरहेको छ ।
मिक्लाजुङ–३ का वडाध्यक्ष हस्तराज फियाक प्रहरी टोलीले घटनास्थल आसपासमा बसोबास गर्ने तथा दैनिक स्थानीयसँग परामर्श गर्ने हुँदा स्थानीयको त्रास कम गर्न सघाउ पुगेको बताउँछन् । नौ जनाको हत्याले सबै त्रसित भयौँ , वडाध्यक्ष फियाकले भने, भय कम गर्न प्रहरी टोलीले सघाइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार सामूहिक हत्या भएको स्थानमा अझै केही दिन प्रहरी टोली रहनेछ । स्थानीयलाई सुरक्षित रहेको महसुस गराउन प्रहरी टोली घटनास्थल आसपासमा केही समय रहन्छ , पौडेलले भने, सम्भव भएसम्म घटनाबारे सोधपुछ, प्रमाण सङ्कलनको कार्यसमेत हुनेछ ।
गत सोमबार मिक्लाजुङ–३ आरुबोटेमा नौ जनाको सामूहिक हत्या भएपछि यहाँका स्थानीय त्रासमा छन् । स्थानीयमा रहेको त्रासलाई मनोवैज्ञानिकरुपमा सामान्यीकरण गर्न प्रहरी टोली खटिएको हो ।
मङ्गलबारदेखि आजसम्म यहाँ पाँचथर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरसहितको टोली निरन्तर अनुसन्धान, स्थानीयसँग भेटघाट तथा सोधपुछमा खटिएको थियो । प्रहरी निरीक्षक पौडेलले कुँवरसहितको टोली फिदिम आउँदै गरेको बताए । घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीलेसमेत सूक्ष्म अनुसन्धान गरेको थियो ।
अनुसन्धानबाट यहाँका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको संलग्नता देखिएको छ । मानबहादुरको शव सामूहिक हत्या भएको भोलिपल्ट गत मङ्गलबार मिक्लाजुङ गाउँपालिका वडा नं ७ लुमाङ्दिनमा उनको घर नजिकै फेला परेको थियो ।
मानबहादुर मानसिकरुपमा असन्तुलित रहेको प्रहरी अनुसन्धानबाट खुलिसकेको छ । उनले नियमितरुपमा मानसिक समस्याविरुद्धको औषधि सेवन गर्दै आएको उनको परिवारले प्रहरीलाई बयान दिएका छन् । श्रीमती मनकुमारीसँग सम्बन्ध राम्रो नरहेका माखिमले सम्बन्ध विच्छेद गर्न भने अस्वीकार गर्दै आएका थिए ।
विगत छ महीनादेखि उनीहरुको सम्बन्ध विच्छेदको मुद्दा प्रक्रिया पाँचथर जिल्ला अदालतमा अघि बढेको पाइएको प्रहरीको भनाइ छ । हालैमात्र मनकुमारीसँग सम्बन्ध विच्छेदका लागि तयार भएका माखिमले सम्बन्ध विच्छेदको बदलामा ससुराली र साढु दाइको परिवारको विभत्स हत्या गरेको प्रहरीको अनुमान छ । यससम्बन्धी विस्तृत अनुसन्धान प्रहरीले सार्वजनिक गरिसकेको छैन । -रासस
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६