लमजुङका कृषकको पछिल्लो समयमा बहुउपयोगी सतुवा खेतीतर्फ आकर्षण बढेको छ । बहुऔषधि गुणले युक्त भएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सतुवाको माग रहेकाले जिल्लाका कृषकको आकर्षण देखिएको हो ।
लमजुङमा झण्डै ५०० कृषकले व्यावसायिक रूपमा सतुवा खेती गर्न थालेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले विसं २०७४ बाट सतुवा खेती सुरु गरेका हुन् । उनले दोलखाबाट प्रतिबिरुवा रु ८० का दरले खरीद गरी पाँच सय बिरुवा करीब एक रोपनी जग्गाबाट शुरु गरी अहिले पाँच रोपनीमा १२ हजार बिरुवा रोपेकाे बताए । शुरुमा जग्गा छनोट र ग्रिनहाउस निर्माणलगायतमा रु एक लाख लगानीबाट अघि बढेको तामाङले रु सात लाख बढी सतुवा खेतीमा लगानी गरिसकेको बताउछन् ।
विगत लामो समयदेखि अलैँची व्यवसाय गर्दै आएका तामाङले अलैँची व्यवसायभन्दा पनि बढी राम्रो सतुवा खेती हुने भएकाले यसतर्फ आकर्षण बढेको बताउछन्, यस खेती कम लागत, समय र श्रमले अलैँची खेतीभन्दा बढी आम्दानी गर्न सकिने साथै बहुउपयोगी जडीबुटी भएकाले यसको संरक्षणका लागि समेत सतुवा खेती गरेको हुँ । यसले पेट दुखेको, घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको बेलामा प्रयोग गर्न सकिने बहुउपयोगी जडीबुटी रहेको कृषक तामाङको भनाइ छ । आगामी बर्षबाट सतुवा उत्पादन हुने उत्पादित सतुवा बिक्रीबाट रु १५ लाख आम्दानी हुने कृषक तामाङ अपेक्षा छ ।
मस्र्याङ्दी गाउँपालिका–८ का भुस्मे होमराज तामाङले पनि दोलखाबाट प्रतिबिरुवा रु ८० मा ८०० बिरुवा खरीद गरी सतुवा खेती शुरु गरेकाे बताए। एक लाख लगानीबाट शुरु गरेको अहिले पाँच लाख सतुवा खेतीका लागि लगानी भइसकेको उनले बताए । उनहरुबाहेक वैशबहादुर गुरुङ, सोमराज तामाङ, गमबहादुर तामाङलगायतले पनि सतुवा खेती विस्तार गरेको र राम्रो हुने अपेक्षा रहेको बताएका छन् । केही कृषकले सतुवा खेती गर्नुअघि दोलखा, इलाम पुगेर सतुवा खेतीसम्बन्धी आवश्यक तालीम लिइसकेको कृषक तामाङले बताए, सतुवा खेती विस्तार गर्नका लागि अभियान सञ्चालन गर्न लागेका छौं । सतुवाखेतीमा लागेसँगै मस्र्याङ्दी गाउँपालिकाका १० भन्दा बढी कृषकले लालीगुराँस बहुउद्देश्यीय कृषि तथा जडीबुटी सहकारी संस्था दर्ता गरी करीब दुई महिनाअघिबाट व्यावसायिक रुपमा सतुवा खेती शुरु गरेका छन् । समुद्री सतहदेखि एक हजार ४०० मिटर उचाइमाथि सतुवा खेती हुने कृषकको भनाइ छ । सतुवा बिरुवा लगाएको तीन वर्षपछि उत्पादन थाल्ने र प्रतिकिलो सतुवा छ हजारदेखि १२ हजारसम्म पर्ने कृषक सुमन गुरुङले बताए ।
जिल्लाका क्वहोलासोँथार गाउँपालिकाका, दूधपोखरी गाउँपालिका, बेँसीशहर नगरपालिका–१० खाँचे, मस्र्याङदी गाउँपालिकाको घेर्मु, रिङ्टाङ, छिनखोला, ताघ्रिङ, लुदीलगायत ठाउँमा कृषकले व्यावसायिक सतुवा खेती गर्न थालेका छन् । अधिकांश कृषकले अलैँची व्यवसायसँगै सतुवा खेती शुरु गरेका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ १२, २०७६