प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा राष्ट्रिय टिमका कप्तान पारस खड्का नेतृत्वको प्रदेश नम्बर ३ विभागीय टिम एपीएफसँग ४१ रनले पराजित भएको छ।
२ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको प्रदेश तीन निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रनमा समेटियो। प्रदेश ३ का उप कप्तान ज्ञानेन्द्र मल्लले १ सय १७ रनको शतकीय उत्कृष्ट इनिङ खेले पनि टोलीलाई जिताउन सकेनन् । मल्ललाई अन्तिम ओभरको दोस्रो बलमा अभिनास बोहाराले शरद भेषवाकरबाट क्याच आउट गराएका थिए । कप्तान पारस खड्का ४६ रनमा आउट भए । भुवन कार्कीको २९ ओभरको पाँचौ बलमा ठूलो शट खेल्ने धुनमा सुमित महर्जनबाट क्याच आउट हुनु अघि पारसले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
ओपनर रित गौतम र जितेन्द्र सिंह ठकुरीले ११.५ ओभरमा ४० रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । पृथु बास्कोटाले ठकुरीलाई एलवी डब्लू आउट गर्दै १२ रनमा पेभिलिएन फर्काए । १३ ओभरको पाँचौ बलमा रित २७ रनमा रन आउट भए । रन आउट हुनुअघि ५२ बलमा ४ चौका प्रहार गरे । अभिषेक बस्नेत ९,रविन जोशी २,सोनु तामाङ ४ र सोनु देवकोटा १५ रनमा आउट भए । एपीएफका कमल सिंह ऐरीले १० ओभरमा ६४ रन खर्चेर ३ विकेट लिए । त्यस्तै अभिनाष बोहोराले २,पृथु बास्कोटा र भुवन कार्कीले समान १ विकेट लिए ।
त्यसअघि टियू मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ८८ रन बनाएको थियो । एपीएफका युवा खेलाडी सुमित महर्जनले ९४ रनको उत्कृष्ट इनिङ खेलेपछि सम्मानजनक योगफल निकालेकाे हाे ।
तल्लोक्रममा अंमर सिंह राउटेलाले १८ बलमा २७ रनमा अविजजित रहे । अभिनास बोहोरा ५ रनमा नट आउट रहे । पृथु बास्कोटा ५९ रनमा क्याच आउट भए । उनले ५८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरीले ६३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४० रनको योगदान दिए । २५ ओभरको चौथो बलमा नन्दन यादवको बलमा ठूलो शट खेल्ने धुनमा प्रदीप क्याच आउट हुन पुगे । शरद भेषवाकर १२,आशिफ शेख ७,शंकर राना १,सन्दीप जोरा ६ र भुवन कार्की १५ रनमा आउट भए ।
प्रदेश ३ का नन्दन यादवले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ३ विकेट लिए । जितेन्द्र सिंह ठकुरीले ५ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिदा पारस खड्का र सुर्य तामाङको नाममा समान १ विकेट रह्यो ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६