किराँत समुदायमा खेतीपाती सप्रियोस्, रोगव्याधि नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गरी महिना दिनसम्म उभौली पर्व मनाउने प्रचलन छ ।
विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–किरातीले समेत जातीय सद्भाव र सांस्कृतिक सहअस्तित्वका रुपमा साकेला नाच्ने गरेका छन् । कसरी नाचिन्छ साकेला नाच साकेला पर्वको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने प्रचलन छ । साकेला थानमा पितृभूमीको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाचिन्छ ।
किराँत समुदायको आदिम पुर्खा खोक्चिलिपु, तायामा र खियामाले यसको सुरुवात गरेको किंवदन्ती छ । वैशाख शुक्ल पूर्णिमा र मंसिर शुक्ल पूर्णिमालाई साकेला पर्वका रुपमा लिइन्छ र साकेला नाच प्रस्तुत गर्ने गरिन्छ । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा र अन्नबाली भित्र्याउने समय मंसिर पूर्णिमामा दुई पटक महिना दिनसम्म मनाइन्छ ।
साकेला पर्वको अवसरमा किराँतहरूले आ-आफ्नो भेषभूषामा सजिएर दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्ट भेला भई गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । साकेला पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बू, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धूमधामका साथ मनाउने गर्छन् ।
आज शनिबार विभिन्न जिल्लाबाट काठमाडौं आएर बसेका किराँतहरूले टुँडिखेलमा साकेला नाच नाचेका छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६