काठमाडौं : नेपाली सेनाका प्रमुख सेनानी केशवराज कार्कीलाई भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएको छ ।
उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरेर पुर्पक्षका लागि तीन महिना केन्द्रीय कारागार पठाइएको हो ।
कार्कीले सरकारी रकम हिनामिना गरी सैनिक अनुशासन र आचरणविपरीत कार्य गरेकामा २०७६ वैशाखमा गठित समरी सैनिक जनरल अदालतले दोषी ठहर गरेको थियो ।
सेनानी कार्कीले गणको आन्तिरिक हिसाबकिताब र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको सेनाको ठहर छ।
गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको गरी ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ भ्रष्टाचार गरेको समरी जनरल सैनिक अदालतले प्रमाणित गर्दै उनलाई दोषी ठहर्याएको हो। शुक्रबार अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भएबराबरको रकम फिर्ता गराउन आदेश दिएको छ।
उनीविरुद्ध वैशाख पहिलो साता उजुरी परेको थियो। सोही उजुरीका आधारमा प्रक्रिया अगाडि बढाइएको हो। यद्यपि, सेनानी कार्की उक्त आदेशविरुद्ध ३५ दिनभित्र पुनरावेदन जाने बाटो भने खुल्ला छ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६