पर्वत : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने अभियानमा आफ्नो साथ रहने भन्दै अभियान सञ्चालन गर्न आग्रह गरेका छन् ।
‘धर्म स्वतन्त्र हुनुपर्छ । न सापेक्ष न निरपेक्ष । धर्म स्वतन्त्रताको कुराहरु हामी गर्छौ, ’पर्वतमा शनिबार आयोजित महायज्ञमा बोल्दै उनले भने, ‘तपाईंहरुलाई हिन्दू राष्ट्र हुनुपर्छ भन्ने लाग्छ ? लाग्छ भने तपाईंहरु लाग्नुस् हामी तपाईहरुको साथमा छौं ।’
उनले धर्मनिरपेक्षता परिवर्तन गराउनका लागि अभियान चलाउनुपर्ने भन्दै त्यसमा आफूले साथ दिने पनि बताए । कांग्रेसको महामन्त्री आफू भएको भन्दै चार तारामध्ये एउटा ताराको अर्थ धर्म स्वतन्त्रता भएको बताए । आफ्ना हजुरबुबाले विराटनगरमा घर बनाउनुअघि मन्दिर बनाएको बताउँदै उनले आफू हिन्दू संस्कारबाट आएको बताए ।
शिवपार्वतीको विश्वकै ठूलो मुर्ति स्थापना गर्ने, २०८ कोठाको धर्मशाला बनाउने र सिसमहल बनाउने लक्ष्यका साथ महायज्ञ आयोजना गरिएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६