एउटा घना जंगल । जंगलको बीचमै सुन्दर ताल । तालको छेउमा सानो माटोले लिपेको चिटिक्क परेको घर । त्यही घरको आँगनमा एक युगल जोडी ।
दृश्य मनमोहक देखिन्छ । त्यही मनमोहक दृश्यसँगै काममा व्यस्त देखिन्छन् रामसुन्दर र उनकी श्रीमती विपना ।
सानैदेखि साइकल बनाउन रुचि राख्ने रामसुन्दर एकान्त मन पराउँछन् । उनी भन्छन्, ‘एकान्त मन पराउनाले यो यो ठाउँ रोजेँ ।’
सबैका आ–आफ्नै इच्छा र आकांक्षा हुन्छन् । कसैका इच्छा फुल्छन्, फल्छन र फक्रन्छन् त कतिपयका इच्छा इच्छामै सीमित रहन्छन् । यस्तै एक इच्छा बोकेका व्यक्ति हुन् रामसुन्दर चौधरी ।
कैलालीको कैलारी गाउँपालिका–९ कोइलही गाउँमा बस्ने रामसुन्दर सरल, शालीन र भद्र स्वभावका देखिन्छन् ।
उमेरले ३४ पुगेका उनी एउटा भनाइलाई जोड दिन्छन्, ‘जहाँ इच्छा त्यहाँ उपाय ।’ सानैदेखि मिहेनत गर्न रुचाउने उनले वि.स २०५७ सालमा एउटा सानो साइकल पसल राखे । त्यतिखेर उनी १८ वर्षका थिए । साइकल व्यवसाय गरेको दुई वर्षपछि उनले विवाह गर्ने योजना बनाए ।
त्यससँगै वि.सं. २०५९ सालमा उनी विपनासँग वैवाहिक बन्धनमा बाँधिए । घरको आर्थिक अवस्था कमजोर भएको कारण त्यतिखेर उनको वैवाहिक जीवन सोचे जस्तो बन्न सकेन । त्यसपछि केही गर्नुपर्छ भन्ने सोच पलाएको उनी बताउँछन् ।
चार दाजुभाइमध्ये उनी माइला हुन् । तीन दाजुभाइ लेबर (श्रमिक) काम गर्छन् । तर उनलाई भने केही पृथक काम गर्ने सोच पलायो । उनी भन्छन्, ‘वैवाहिक जीवनसँगै केही जिम्मेवारी थपिएको महसुस भयो । र वि.सं. २०६० सालमा काम खोज्न राजधानी आएँ ।’ उनले काठमाडौंमै बसेर प्रिन्टिङको काम सिके । टिसर्टमा प्रिन्टिङ गर्दै उनको दैनिकी बित्थ्यो ।
करिब छ/सात वर्षको सिकाइको अनुभव बोकेर उनी आफ्नै गाउँ–ठाउँ कैलालीको कोइलही फर्के । आफूले सिकेको सीप आफ्नै ठाउँमा प्रयोग गर्ने मानसिकताले घर फर्केको रामसुन्दर बताउँछन् ।
साइकल बनाउनु उनको रुचिको विषय थियो । तर घरको आर्थिक अवस्थाका कारण त्यो काम पूरा गर्न सकेनन् रामसुन्दरले । अब साइकलसम्बन्धी नै अर्को नयाँ र पृथक काम सोचे झब्बा (साइकललको एक भागको नाम) बनाउने । साइकलको झब्बा बनाउने योजना बनाएका उनलाई झब्बा कसरी बनाउने भन्ने थाहा नै थिएन ।
उनी भारतको पलिया गए । पलियाका एक साहुजीसँग परार्मशसँगै प्रिन्टिङ गर्ने भिनासैन नाम गरेको मसी लिएर घर फर्के । रामसुन्दर भन्छन्, ‘मेरो भविष्यप्रति सबै चिन्तित थिए । म एक कक्षा पनि पढेको छैन । सासूआमाले भन्नुहुथ्यो– बाबु विदेश जानू । कमाइ राम्रै हुन्छ । घरपरिवार चलाउन सजिलो हुन्छ ।’
उनी दोहोर्याउँछन्, ‘उहाँले भनेका यस्तायस्तै अनेकौं शब्द अहिलेसम्म सम्झनामा छन् ।’ केही महिना त पर्खिऔं, केही नलागेपछि जान्छु भन्दै सबैको चित्त बुझाएको उनी बताउँछन् ।
उनले गर्दै जाँदा झब्बा बनाउने काम झन गुणस्तरीय बन्दै गयो । एक वर्षसम्म त्यति बजार नपाएका रामसुन्दरलाई त्यसपछि त उनलाई भेट्न टाढाटाढाबाट ग्राहक आउन थाले ।
उनी दाबी गर्छन्, ‘सुदूरपश्चिममा पहिले म मात्र थिएँ झब्बा बनाउने । अहिले कैलालीमा अर्को एक जनाले पनि गर्छन् भन्ने सुनेको छु ।’ कैलाली र कञ्चनपुरका विभिन्न ठाउँमा आफ्नो बजार विस्तार भइसकेको उनी बताउँछन् ।
उनले यो व्यवसाय गर्न थालेको आठ वर्ष भयो । सुरुमा प्रतिगोटा तीन रुपैयाँमा बिक्री गर्ने उनी अहिले १० रुपैयाँमा बिक्री गरिरहेका छन् । अहिले कामको अनुभव र ग्राहकको प्रतिक्रियासँगै भारतका चम्किला झब्बाहरू भन्दा आफूले राम्रो काम गर्दै आएको उनी दाबी गर्छन् ।
अहिलेसम्म घरायसी सामानहरूले झब्बा बनाए पनि अब केही मेसिन ल्याउने तयारीमा रामसुन्दर छन् । झब्बाबाट मासिक २०/२५ हजार रुपैयाँ कमाउने गरेको बताउने उनी वार्षिक दुई/तीन लाख कमाउँछन् ।
झब्बा मात्र होइन रामसुन्दरको अर्को गतिलो व्यवसाय माछापालन पनि हो । विगत आठ वर्षदेखि कतरी ताल भाडामा लिएर उनी माछा व्यवसाय गर्दै आएका छन् । पहिले गाविसबाट भाडामा लिएर व्यवसाय गर्दै आए पनि अहिले कैलारी गाउँपालिकाबाट पाँच वर्षका लागि ११ लाख रुपैयाँमा भाडामा लिएर माछापालन गर्दै आएका छन् ।
पाँच लाख रुपैयाँ ऋण लिएर सुरु गरेको माछा व्यवसायबाट अहिले रामसुन्दरको परिवार सन्तुष्ट छ । अहिलेसम्म घाटा नव्यहोरेको उनी बताउँछन् । दुइटै व्यवसायबाट अहिले उनी मासिक करिब ४०/५० हजार कमाउँदै आएका छन् । करिब सात बिगाह क्षेत्रफल रहेको तालमा अहिले उनले सिल्भर, ग्रासकाड, कमनकाड गरी सात जातका माछापालन गर्दै आएका छन् ।
सुरुमा दुइटै व्यवसायसम्बन्धी कुनै ज्ञान नभएको बताउने उनी काम गर्दै जाँदा सिक्दै गएको बताउँछन् ।
अहिले रामसुन्दरका चार छोरी छन् । जेठी ९, माइली ७, साइँली २ र कान्छी भर्खर विद्यालय जाने भएका छन् । रामसुन्दरका आमाबुवा भने दाजुभाइहरूसँग नै बस्छन् । अझै बच्चा जन्माउने योजना के छ ? भन्ने आजको न्युजले गरेको प्रश्नमा मस्किँदै उनी जवाफ दिन्छन्, ‘हुन त समाजले छोरा नै भन्छ, तर म छोराछोरी समान ठान्छु । अब बच्चा जन्माउँदैनौं । चार छोरी नै ठिक्क छन् ।’
पछिल्लो समय सबै युवाहरूको रोजाइ विदेश बनेको छ । यदि कडा परिश्रम र हिम्मत नहारेमा आफ्नै देशमा पनि केही गर्न सकिने उदाहरण रामसुन्दरको जोडी बनेको छ । दुःखमा पनि आफू विदेश नगएको सुनाउँदै रामसुन्दर सबैलाई आग्रह गर्छन्, ‘सके कुनै पनि नेपाली युवा विदेश नजाऔं ।’
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६