काठमाडौं : बुधबार निधन भएका पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको अन्त्येष्टि आज शनिबार पशुपति आर्यघाटमा गरिने भएको छ ।
अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार उनको निधन भएको हो । उनका छोरा अमेरिकाबाट आउँदै गरेकाले शनिबार अन्त्येष्टि गरिने भएको हो ।
ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रूपमा १९८० साल असोज ३ गते जन्मिएका उनले २०३३ साल साउन २४ गतेदेखि २०४२ साल मंसिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए । २००४ सालमा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका उनले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान गरेका थिए ।
विसं २०४३ मा चीनका लागि नेपाली राजदूतसमेत भएका उनी विसं २०५७ मा राष्ट्रिय मानवअधिकार आयोगको पहिलो अध्यक्ष, विसं २०१६, २०२८, २०४८ मा तीन पटक कानुन सुधार आयोगको अध्यक्ष, २०३१ सालमा प्रेस काउन्सिलको अध्यक्ष भएर राष्ट्रिय मानव अधिकारका क्षेत्रमा योगदान पु¥याएका थिए । आयोगको दोस्रो कार्यकाल २०६२ मा पनि उनी अध्यक्ष भए ।
तीन दिनसम्म आयोगको झण्डा आधा झुकाइने
राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो पहिलो अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खत्रीको निधनको शोकमा तीन दिनसम्म आयोगको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको आकस्मिक बैठकले आयोगका पहिलो अध्यक्ष खत्रीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको आयोगका सचिव वेद भट्टराईले जानकारी दिए ।
आयोगले खत्रीको सम्मान र सम्झनामा आयोगको केन्द्रीय कार्यालयमा स्व खत्रीको तस्बिरसहित १३ दिनसम्म शोक पुस्तिका राख्ने र उनको निधन भएको १३औँ दिनका दिन आयोगका सबै कार्यालयमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने निर्णय गरेको हो । -रासस
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६