काठमाडौं : तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्बले प्रदेश २ लाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आज सम्पन्न खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २७८ रन बनायो । २७९ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश २ ले ३१.४ ओभरमा सबै विकेट गुमाई १०७ रन मात्र बनायो । प्रदेश २ का लागि हरिशङ्कर साहले सर्वाधिक २१ रन बनाए ।
सम्साद शेखले १६, सुधीर चौधरीले १५, रासिद खानले १४ र सुरज पटेलले ११ रन बनाए । बलिङतर्फ आर्मीका शाहब आलमले ४ विकेट लिए । सुशन भारीले ३, जितेन्द्र मुखियाले २ तथा कुशल मल्लले १ विकेट लिए । यसअघि आर्मीको ब्याटिङ सुरवात राम्रो रह्यो ।
प्रारम्भिक ब्याट्सम्यान राजु रिजाल र कप्तान विनोद भण्डारीले १२१ रनको साझेदारी निभाए । रिजालले दुई छक्का र चार चौकाको मद्दतमा ९० रन जोडे । भण्डारीले ९ चौकासहित ६६ रनको योगदान दिए । यस्तै, रोहित पौडेलले ४७, हरिबहादुर चौहानले २६, सुशन भारीले १२ तथा करण केसीले ११ रन बनाए ।
बलिङतर्फ प्रदेश २ का हरिशङ्कर साहले तीन तथा रासिद खान, विवेक यादव र विशाल सुसलिङले १/१ विकेट लिए । प्लेयर अफ द म्याच आर्मीका राजु रिजाल भए । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशका टोलीको सहभागिता छ ।
समूह ‘ए’मा एपीएफ क्लब, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश तथा समूह ‘बी’मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् ।
प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।