भारतमा सम्पन्न १७औँ लोकसभामा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी ३०३ सिटसहित सबैभन्दा ठूलो पार्टी बनेको छ। बहुमतका लागि २७२ सिट आवश्यक थियो तर भाजपा एक्लैले यसभन्दा धेरै सिट ल्याएको छ ।
भाजपासहितको गठबन्धन एनडीएले ३५२ सिट जितेको छ । कांग्रेस भने ५२ सिटमा खुम्चिएको छ । उसको गठबन्धन युपीए यस पटक ९६ सिट ल्याउन सफल भएको छ । कांग्रेसको सहयोगी द्रमुक तेस्रो नम्बरमा रहेको छ ।
सन् २०१४ मा निल भएको द्रमुकले यस पटक २३ सिटमा जीत हात पारेको छ । उत्तर प्रदेशमा बहुजन समाजवादी पार्टीले १० सिट जित्न सफल भएको छ । मायावतीको पार्टीले सन् २०१४ मा एउटा पनि सिट जितेको थिएन ।
भाजपाले सन् २०१४ मा २८२ सिट जित्न सफल भएको थियो । उसको गठबन्धन एनडीएले ३३६ सिटमा जीत निकालेको थियो । भाजपाले पछिल्लो पटकभन्दा यस पटक २१ बढी सिट जितेको छ । सन् २०१४ मा नौ सिट मात्रै जितेको वाईएसआर कांग्रेसले यस पटक २२ सिट जितेको छ भने भाजपाको सहयोगी जनता दल युनाइटेडले बिहारमा १७ सिट जितेको छ ।
पछिल्लो पटक जनता दल एनडीएबाट अलग्गै चुनावी मैदानमा थियो । उसले त्यसबेला दुई सिट मात्र जितेको थियो।
यस चुनावमा एनडीएले राम्रो प्रचार गरे पनि तमिलनाडुमा अन्नाद्रमुकलाई ठूलो क्षति भएको छ । अन्नाद्रमुक यस पटक एक सिटमा मात्र विजयी भएको छ । सन् २०१४ मा अन्नाद्रमुकले अलग्गै चुनाव लडेको थियो । त्यसबेला उसले ३७ सिट जितेको थियो ।
आन्ध्र प्रदेशमा चन्द्रबाबु नायडुको पार्टी तेदेपालाई पनि ठूलो क्षति भएको छ । उसले सन् २०१४ मा १६ सिट जितेको थियो तर यस पटक तीन सिटमा चित्तबुझाउनुपरेको छ । बंगालकी मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कांग्रेसले यस पटक ठूलै हार व्यहोर्नुपरेको छ । सन् २०१२४ मा बंगालका ४२ मा ३४ सिटमा तृणमूलले जितेको थियो तर यस पटक उसले २२ वटा मात्रै सिट जितेको छ ।
उता, उडिसामा पनि बिजदको सिट घटेको छ । सन् २०१४ मा मोदी लहरका बाबजुद २० सिट जितेको बिजद यस पटक १२ सिटमा झरेको छ । काश्मिरमा महबुबा मुफ्तीको पार्टी पीडीपीले एउटै सिट जितेन । अघिल्लो चुनावमा उसले छमध्ये तीन सिटमा जीत हासिल गरेको थियो ।
बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको पार्टी राष्ट्रिय जनता दलले यस पटक निल व्यहोर्नुपर्यो । अघिल्लो चुनावमा राजदले चार सिटमा विजय हासिल गरेको थियो । उता, उत्तर प्रदेशमा समाजवादी पार्टीले आफ्नो पाँच सिट बचाउन सफल भएको छ । यादव परिवारका दुवै सदस्य अखिलेश यादव र मुलायमसिंह यादवले जितेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६