पछिल्लो केही वर्षयता युवाहरू स्वावलम्बनको बाटोमा हिँडेका थुप्रै उदाहरणहरू नेपाली समाजमा देखापर्न थालेका छन् । पढाइ सकेर जागिर या विदेश जाने परम्परागत सामाजिक संरचना अहिले परिवर्तन हुँदै छ । खासगरी कृषि, बाख्रापालन, माछापालन, घरेलु उद्योग र व्यापारमा युवा पुस्ताको रुचि स्वात्तै बढेको छ । वैदेशिक जागिरको कठिनता र जागिरबाट हुने कछुवाप्रगति यसका प्रमुख कारक हुन् । दसौं वर्ष धैर्यता गर्नुभन्दा युवा पुस्ता छिटो छरितो प्रगति चाहन्छ । र यो प्रवृत्ति नेपाली समाजमा सफल देखिएको पनि छ ।
कीर्तिपुरमा करिब दुई दशकदेखि बस्दै आएका सीताराम थारू कीर्तिपुर केन्द्रीय विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नाकोत्तर तह उत्तीर्ण गरेपछि केही समय सोचमा परे । बर्दियाली थारू विकास मञ्चका अध्यक्षसमेत रहेका उनलाई जागिर गरौं कि विदेश जाउँ भन्ने सोच पनि नआएको होइन ।
तर उनले फरक बाटो रोजे । केही मौलिक र फरक व्यवसाय रोज्ने उनले निर्णय गरे । र त्यही सोचमा जन्मियोः थारू रेस्टुरेन्ट । उनले थकाली र नेवारी होटेलहरू सफलताको शिखरमा पुगेको देखेका थिए। त्यस्तै विशेष रेस्टुरेन्टझैं आफ्नै समुदायकको मौलिकता र फरक स्वाद भएको रेस्टुरेन्ट खुल्यो जसको नाम रह्योः वरघर रेस्टुरेन्ट।
वरघर रेस्टुरेन्ट कीर्तिपुर- ८ पांगा हलनजिकै अवस्थित छ । एक ऊर्जाशील युवा जसलाई पैसा कमाउने र विदेश पलायन हुने भन्दा पनि आफ्नो क्षेत्रको पहिचानलाई अरूसामु पुर्याएर फरक स्वाद चखाउने धोको थियो । त्यसकै उपज हो यो रेस्टुरेन्ट । लगभग ७–८ लाख रुपैयाँको लगानीमा सुरु भएको यो रेस्टुरेन्टको प्रमुख उद्देश्य पैसा कमाउने भन्दा पनि युवाहरूले गर्न चाहे के हुँदैन भन्ने उदाहरण पेस गर्नु हो । यस्तो नमूना जहाँ मौलिकतासँगै गाउँघरको झल्को मेट्ने परिकारको असली स्वाद भेट्न सकिन्छ । जहाँ थारू जातिको पहिरन, हस्तकलाका सामग्री र अन्य थारू परिकार अवलोकन गर्न सकिन्छ । यो रेस्टुरेन्टको अनुपम पक्ष भनेको फरक स्वाद र फरक पहिचानका साथै थारू संग्रहालयको झल्को दिने वातावरण सिर्जना गर्नु पनि हो ।
रेस्टुरेन्टका सञ्चालक सीताराम चौधरी भन्छन्, रेस्टुरेन्ट चलाएर आम्दानी धेरै-थोरै भन्दा पनि आफू सन्तुष्ट छु । विशेष गरी आफ्नो संस्कृति र आफ्नो समुदायको परिकारको स्वाद अन्य व्यक्तिसँगै थारू समुदायमा पस्कन पाउदा खुसी लागेको छ ।
यो रेस्टुरेन्टको अवधारणा कसरी आयो ? भन्ने प्रश्नमा सञ्चालक चौधरी थप्छन्,खास गरी सुरुमा थारू संस्कृति, साहित्य र परम्पराको झल्को दिन केही गर्ने सोच थियो । पछि मौलिकतालाई व्यवसायमा ढाल्ने सोच आयो । एक त आफ्नो मौलिक परिकारको संरक्षण पनि हुने र अर्को म:म-चाउमिनबाट आजित स्वादका पारखीहरूलाई फरक स्वाद दिने । आफ्नो संस्कृति र स्वादलाई जोगाउन पनि यो प्रयास गरेका हौं । सायद काठमाडौं उपत्यकामा यो नै एक मात्र थारू रेस्टुरेन्ट हो ।
थारू भाषामा बडघरशब्दको अर्थ अगुवा भन्ने हुन्छ । थारू जाति सबैले भनेको मान्ने गाउँको अगुवाइ गर्न सक्ने व्यक्तिलाई प्रत्येक वर्ष ‘बडघर’ का रूपमा चुन्ने गर्दछन् । ठाउँअनुसार भलमन्सा, महतावा, मुखिया पनि भन्ने गरेको पाइन्छ । ‘बडघर’ शब्दले ठूलो अर्थ बोकेको हुन्छ । यसर्थ थारू जातिको पहिचानलाई उजागर गर्नका लागि र थारू संस्कृति विशेष खानपिनदेखि लिएर यो समुदायको हस्तकला, संस्कृति र सम्वर्द्धन गर्न गराउन काठमाडौंमा वरघर रेस्टुरेन्टको स्थापना भएको हो ।
गत वर्ष वैशाख एक गतेदेखि सञ्चालनमा आएको वरघर रेस्टुरेन्टले शहरमा हराएको गाउँको स्वाद र गाउँमै छुटेको आफ्नै मौलिकता झल्काउन सफल भएको देखिन्छ । यो रेस्टुरेन्ट काठमाडौंबासीका लागि नयाँ स्वाद थप्ने एउटा अलग्गै रेस्टुरेन्ट हो भन्दा फरक नपर्ला । वरघर रेस्टुरेन्ट पाहुनाका खातिर बिहान ८ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने गर्छ । रेस्टुरेन्टमा थारू परिकारको स्वाददेखि थारू भाषा, साहित्य र संस्कृतिलाई संरक्षण, प्रबर्द्धन गर्न प्रत्येक महिनाको अन्तिम शनिबार ‘ठुम्रार साहित्यिक बखेरी’ कार्यक्रम नियमित सञ्चालन हुँदै आएको छ । जसले थारू समुदायका युवा पुस्तादेखि प्रौढ र बुद्धिजीवीको मिलनबिन्दुको माध्यम बन्न सफल भएको छ।
उक्त रेस्टुरेन्ट थारू समुदायका व्यक्तिबाहेक अन्य वर्ग, जाति, समाजका व्यक्तित्वलाई पनि खुला रहेको रेस्टुरेन्टका सञ्चालक चौधरी बताउँछन् । साथै उक्त रेस्टुरेन्टमा थारूको ऐतिहासिकता झल्किने खालको पहिरन, हस्तकला सामग्री र थारू जातिको पहिचान सम्बन्धी पुस्तकहरूको व्यवस्था भएको देख्दा लाग्छ कतै यो थारू मिनीसंग्राहलय त होइन ?
वरघर रेस्टुरेन्टमा थारू विशेष परिकारहरू घोंघी, गंगटा, ढिक्री, बैरनी चट्नीबरिय, सुखाइल मछ्छी (सुकाएको माछा), झिंगा मछ्छी (झिंगा माछा), डेरूवा मछ्छी, सुतही (सिपी), थारू आलु, बंगुरको सेकुवा, सुरिक मःमः, मबुवा (छ्याङ), घरैया दारू (घरेलु रक्सी), कच्च झिंगा (काँचो माछा), अन्डिक भात, अन्डिक झवार, लोकल मुर्गा (कुखुरा) आदि पाइन्छ ।
रेस्टुरेन्ट सञ्चालक सीताराम काठमाडौं बस्न थालेको दुई दशक भए पनि उनका लागि रेस्टुरेन्ट एकदमै नयाँ र फरक क्षेत्र हो । रेस्टुरेन्ट व्यवसायका बारेमा कहिल्यै सोच नबनाएका उनी समयसापेक्ष चल्न सक्नुपर्ने धारणा व्यक्त गर्छन् । धेरैका लागि काठमाडौं सपना र संघर्षको शहर हो । जहाँ मेहेनत गर्यो भने सम्भावना प्रवल छ । चिया, कफी, मः मः र चाउमिन सबैले दिन्छन् । कुनै मौलिक स्वाद हाइजिनिक परिकार दिन सक्ने हो भने टिक्न सक्ने सम्भावना धेरै रहने उनको धारणा छ ।
सीतारामलाई नयाँ कामको थालनीका लागि सकारात्मक प्रेरणाको अभाव कहिल्यै भएन । पहिले थारू परिकार थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सवमा वर्षको एकचोटी मात्र चाख्न पाइन्थ्यो । अचेल न त माघी महोत्सव कुर्नुपर्छ न त कुनै पर्व विशेष । तीन सय ६५ दिन खुला छ वरघर रेस्टुरेन्ट ग्राहकको सेवाका लागि ।
तर पनि ७७ जिल्लाका व्यक्तिहरू भएको काठमाडौंमा थारू परिकारको रेस्टुरेन्ट खोल्नु आफैँमा चुनौती हो । मुख्य समस्या परिकारका लागि सामान जुटाउनु हो । जो ल्याउन शहरमा पाइँदैन, गाउँकै भर पर्नुपर्ने हुन्छ । त्यसमा पनि तिनीहरूको आ–आफ्नै निश्चित मौसम हुन्छ । जस्तै घोंघी, सुतही, गेङ्टा, बैयर यी सधैंभरि पाउन सकिँदैन । अन्य थारूको अन्डिक झवार र महुवक दारु प्रशासनबाटै रोक लाग्ने भएकाले उपलब्ध गराउन सकिएको छैन । त्यस्तै आफू र आफ्ना स्टाफहरू त्यति प्रोफेसनलभइनसकेका कारण सेवामा अलि ढिलाइ र सस्तो मूल्यका कारण पछिसम्म टिकाइरहन गाह्रो होला भन्ने चिन्ता छ उनमा ।
थारू परिकार बेचेरै मात्रै पैसा कमाउनुभन्दा पनि थारू संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै विस्तार गर्न थोरै भए पनि रेस्टुरेन्टले सहयोग गर्ने कुरामा खुसी व्यक्त गर्छन् सञ्चालक सीताराम । पहिलेको तुलनामा यस्ता व्यवसायमा युवा वर्गको आकर्षण बढ्दो छ । कुनै पनि व्यवसायमा दीर्घकालीन योजना बनाई अगाडि बढ्दा सफल र सहज हुन्छ । तर्सथ राज्यले युवा पलायन हुनबाट रोक्न युवालाई तालिमका साथै न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउन सक्यो भने बेरोजगारी समस्यामा थोरै भए पनि कमी आउने थियो होलाउनी भन्छन् ।
प्रकाशित मिति: शनिबार, जेठ ११, २०७६