दमौली : केही दिनदेखि लगातार परेको असिनापानीले बाली नष्ट हुँदा जिल्लाका कृषक मर्कामा परेका छन् । असिनाले खाद्यान्न, लहरेबाली र सुन्तला नष्ट गरिदिएपछि उनीहरु मर्कामा परेका हुन् ।
तनहुँको ब्यास नगरपालिका–१० का कृषक विष्णुप्रसाद बजगाईंले ६ रोपनी क्षेत्रफलमा लगाएको मकै असिनाले पूरै सखाप बनाएको जानकारी दिए । सोही वडाका पार्वती सुवेदीले असिनाले पाँच रोपनी क्षेत्रफलमा लगाएको लहरेबाली नष्ट गरेको बताए । उनने भने , दुःख गरेर लहरेबाली लगाइयो, लगातार परेको असिनाले पूरै नष्ट पारिदियो । असिनापानीले ब्यास नगरपालिका–५, ८, १०, ११, १२, १४ लगायतका ठाउँमा खेतीबाली नष्ट बनाएको सूचना आएको ब्यास नगरपालिकाका कृषि शाखाप्रमुख विश्वराज वाग्लेले जानकारी दिए ।
राहतको आश गर्दै नगरपालिकामा आएका कृषकलाई प्रमुख वाग्लेले बीमा गरेका बाहेकले क्षतिपूर्ति पाउन गाह्रो हुने बताएपछि कृषकहरु निराश भएका छन् । वाग्लेले कृषि बीमा गरेका कृषकलाई बीमा कम्पनीले नै क्षतिपूर्ति दिने तर अन्य कृषकलाई भने राहतको व्यवस्था कार्यालयबाट गर्न गाह्रो हुने बताए । कृषक बजगाईंले कृषि बीमाका बारेमा आफूलाई जानकारीसमेत नभएको बताए । उनले भने , बीमाका बारेमा पहिल्यै कृषकलाई जानकारी गराएको भए बीमा गर्न हुन्थ्यो तर अहिले खेती गर्दाको लगानी पनि डुब्यो । राहत पाउने आश पनि हरायो । असिनापानीले जिल्लाकै शुक्लागण्डकी नगरपालिका–११ नाम्सीकोटका कृषकको सुन्तलासमेत नष्ट गरेको छ ।
गत वर्ष २८ लाखको सुन्तला बिक्री गरेका कृषक कमल महतको सुन्तला बगान असिनाले नष्ट बनाएको छ । उनका अनुसार भर्खरै दाना लागेको सुन्तला असिनापानीले चुटेर भुइँभरि झारेको छ । उनले भने , आधाभन्दा बढी बतिला असिनाले झारेको छ । बोटमा बाँकी रहेका दाना चोट लागेका मात्र छन् । भर्खरै फल लागेको हुनाले अब बाँकी रहेका दाना राम्रोसँग सप्रिन्नन् ।
वर्षभरिको घरखर्च सुन्तला बेचेर भएको आम्दानीबाट चलाउने गरे पनि यो वर्ष असिनाले नष्ट गरेपछि आम्दानी हुन गाह्रो भएको उहाँको गुनासो छ । यहाँका सुन्तला कृषक जगतबहादुर महत, नेत्रबहादुर महत, दिलबहादुर केसी, लोकबहादुर महतलगायत सबैको बगानमा रहेको सुन्तला असिनापानीले नष्ट बनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, सुन्तला पकेट क्षेत्र नाम्सीकोट आसपासबाट किसानले गत वर्ष रु चार करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष २५ प्रतिशतले उत्पादन बढ्ने अनुमान गरिएको थियो । वडा सदस्य दानुमाया महतले असिनाले सुन्तला बगानमा करीब दुई करोडभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको बताइन । उनले भनिन् , क्षतिको विवरण सङ्कलन गर्न बाँकी नै रहेकाले अझै बढ्न सक्ने सम्भावना छ । नाम्सीकोटमा आधाभन्दा धेरै सुन्तला असिनाले नष्ट बनाएको भने पाल्पालीछाप, ज्याङलादी र अलैँचेमा भने नाम्सीकोटको तुलनामा अलिक कम क्षति भएको उनले जानकारी दिए ।
त्यस्तै शुक्लागण्डकी नगरपालिका–११ साँखेका कृषक महेन्द्र गौतमले असिनाले तरकारी बालीमा क्षति पु¥याएको जानकारी दिए । उनका अनुसार फल्ने बेला भएको काँक्रो, घिराँैला र करेला पूर्ण रुपमा क्षति भएको छ भने दुई पटक गोडमेल गरिएको, घोगा हाल्ने बेलाका मकै फेरि छर्नुपर्ने अवस्था भएको छ । शुक्लागण्डकी नगरपालिकाका कृषि शाखाप्रमुख नवराज पण्डित असिनाले किसानले लगाएको सुन्तला, खाद्यान्न र लहरे बालीमा क्षति पु¥याएको जानकारी दिए ।
उनका अनुसार किसानलाई क्षतिको विवरण टिपाउन अनुरोध गरिएको छ । नगरपालिकाले क्षतिपूर्ति दिन सक्ने अवस्था नभएकाले प्रदेश सरकारसँग माग गरेर किसानलाई राहत दिलाउने उनले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६