काठमाडौं: छोरा अपहरण गरी मारिदिने धम्की दिदैं रकम असुल्न खोज्ने एक प्रेम जोडीलाई अपराध महाशाखाकाे टोलीले पक्राउ गरेको छ।
महाशाखाले कैलाली, टिकापुर नगरपालिका वडा नम्बर ९ घर भई हाल बालकुमारी ललितपुर बस्ने २४ वर्षिय लोकेन्द्र शाही र साेही स्थानकी २० वर्षिय प्रेमिका रूबी ठाकुरलाई अपहरण गरी ज्यान मार्ने अभियोगमा बिहिबार गौशालाबाट पक्राउ गरेको हो।
उनीहरूले सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका वडा नम्बर १० बुद्धनगर बस्ने ४२ वर्षिय सिताराम कार्कीलाई एसएमएस मार्फत धम्की दिने गरेका अपराध महाशाखा प्रमुख सहकुल बहादुर थापाले बताए ।
उनीहरूलाई धम्काउन प्रयोग गरेको मोबाइल सेट र सिम सहित पक्राउ गरेको अपराध महाशाखा प्रमुख थापाले बताए । थापाका अनुसार पीडित कार्की र पीडक ठाकुरबीच पहिलेदेखि नै चिनाजानी रहेको र घटना घट्ने अवस्थासम्म कसरी पुग्यो भन्ने बारेमा अनुसन्धान भइरहेको उनको भनाइ छ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६