पाँचथर : प्रहरीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा सोमबार राति भएको सामूहिक हत्याको घटनाका थप प्रमाण फेला पारेको छ ।
उक्त घटनाका मुख्य अभियुक्त ठह-याइएका सोही गाँउपालिका–७ लुमाङ्दिनका मानबहादुर माखिमको परिवार तथा सामूहिक हत्या गरिएका अवस्थाका आधारमा थप प्रमाण फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार माखिमले विगत करिब दुई वर्षदेखि मानसिक रोगविरुद्धको औषधि सेवन गर्दै आएका थिए । प्रहरीले उनको घरबाट केही औषधि र औषधिका खोल फेला पारेको छ । उनी मानसिक रुपमा असन्तुलित भएकै कारण सामूहिक हत्या गरेको स्थानीयले समेत आशंका गर्दै आएका थिए ।
यस्तै घटना भएको बिहान ३ः०९ बजे माखिमले भतिजो पर्ने नेलकल माखिमलाई पाँच हजार रुपैयाँ सापटी मागेको पाइएको छ । उनले आफू मोरङमा रहेको र अपरझट काम परेकाले सापटी दिन भनेको नेलकलले प्रहरीलाई बताएका छन् ।
श्रीमती मनकुमारीसँग सम्बन्धविच्छेद गर्न अस्वीकार गर्ने मानबहादुरको श्रीमतीसँग भने सधैँ झगडा हुने गरेको उनका आफन्तले प्रहरीलाई बताएका छन् । उनी बाहिर सोझो र समझदार देखिने तर रक्सी पिएपछि आक्रमणमा उत्रने स्वभाव रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरी निरीक्षक पौडेलले बताए ।
मानबहादुरले श्रीमतीसँग सम्बन्धविच्छेद गर्न अस्वीकार गर्दै आए पनि उनकी श्रीमती मनकुमारी भने उनीसँग जसरी पनि सम्बन्धविच्छेद गर्ने पक्षमा रहेको मनकुमारीका माइती पक्षको भनाइ छ ।
यस्तै प्रहरीले हत्या गरिएकाको शवको अवस्था, धारिलो हतियार प्रहारको प्रकारलगायत सूक्ष्म विश्लेषण गरेको छ । सबैलाई एकै प्रकारले धारिलो हतियार प्रहार गरेको अनुसन्धानमा खुलेको छ , प्रहरी निरीक्षक पौडेलले भने, उनी एक्लैले सबैलाई धारिलो हतियार प्रहार गरेको देखिन्छ । हालसम्मको अनुसन्धानमा उक्त घटना गराउन माखिमबाहेक अन्यको संलग्नता देखिने कुनै पनि प्रमाण फेला नपरेको प्रहरी निरीक्षक पौडेलले बताए ।
सबै अनुसन्धान सम्पन्न भएपछि कुनै प्रमाण फेला प-यो भने त्यो अलग कुरा हो । तर हालसम्म उनी एक्लैले घटना गराएको देखिन्छ , पौडेलले भने ।
प्रहरीले हत्याका मुख्य अभियुक्त ठानिएका माखिम तथा हत्या गरिएका बमबहादुर फियाक र धनराज शेर्माको परिवार, आफन्त, छरछिमेकीलगायतसँग सोधपुछ जारी राखेको छ । यस्तै यी सबैको फोनको विवरण संकलन तथा विश्लेषणको कार्यसमेत जारी राखेको जनाएको छ ।
सामूहिक हत्याको घटनास्थल, माखिमले आत्महत्या गरेको स्थान, उनले केही सामग्री छोडेको स्थान, माखिमको घरलगायतका क्षेत्रमा केन्द्रीय अनुसन्धान ब्युरोको कमान्डमा अनुसन्धान जारी रहेको पौडेलले जानकारी दिए ।
सोमबार राति मिक्लाजुङ–३ आरुबोटेका बमबहादुर फियाक र उनका माइला ज्वाँइ धनराज शेर्माको परिवारका नौ जनाको विभत्स हत्या भएको थियो । मंगलबार बिहान बमबहादुरका कान्छा ज्वाँइ मानबहादुर माखिम उनको घर नजिकै रुखमा झुन्डिएको अवस्थामा फेला परेको थिए । –रासस
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६