कञ्चनपुर : कञ्चनपुरको पुनर्वासमा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तुलसी अर्याल प्रहरीद्वारा कुटिएपछि विरोधमा स्थानीयले प्रहरी चौकीमा तोडफोड र टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
प्रहरी चौकी डोके बजारमा बिहीबार राति ११ बजे स्थानीयको विवाद मिलाउन पुगेका वडाध्यक्ष अर्याललाई प्रहरीले कुटपिट गरेपछि रातिदेखि स्थानीयले विरोध प्रदर्शन गरिरहेका हुन् ।
विरोधमा उत्रिएका स्थानीयले धनगढी बेलौरी हुलाकीमार्गमा आवागमन ठप्प पारेका छन् । प्रहरी निरीक्षक कर्णबहादुर बमको आदेशमा आफूमाथि हातपात भएको वडाध्यक्ष तुलसी अर्यालले बताए । डोकेबजार प्रहरी चौकीमा भएको विवाद मिलाउन गएका अध्यक्ष प्रहरीबाट कुटिएका हुन् ।
जनप्रतिनिधि नै प्रहरीबाट कुटिएपछि आक्रोशित स्थानीयले प्रहरी चौकी घेराउ गर्नुका साथै चौकी अगाडि टायर बालेर दोषीलाई कार्बाहीको माग गरेका छन् । विवाद उग्र हुने देखिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाक्लो संख्यामा परिचालन गरिएको छ ।
घटनाको १२ घन्टा बित्दा समेत विवाद समाधानका लागि प्रशासन तथा उच्च प्रहरी अधिकारी घटनास्थलमा पुगेका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६