काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा यही जेठ २६ गते देखाइने भएको छ ।
बिहीबार बिहान चार जना जोशी समुदायका ज्योतिषीले मच्छिन्द्रनाथलाई जाउलाखेल लाने शुभसाइत हेरेर जेठ २३ गते बिहीबार लगनखेलबाट रथ जाउलाखेल पुर्याइने र त्यसको चार दिनपछि भोटो देखाउने निर्णय गरेको ज्योतिषी सिद्धिकिरण जोशीले जानकारी दिए ।
पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथ हाल लगनखेलको इटिटोलमा राखिएको छ । लगनखेलबाट जावलाखेल रथ तान्नका लागि जोशी गुरुहरुले शुभसाइत हेरिसक्याैँ , जोशीले भने, बुधबार साँझमा रथबाट एउटा काँचो नरिवाल खसाली त्यहाँबाट बिदा माग्ने चलन छ । जेठ २३ गते सात गाउँ कीर्तिपुर, पाँगा, बलम्बु, मच्छेगाउँ, सतुंगल, थानकोट र पुल्चोकका मानिस आएर लगनखेलबाट रथ तानी जावलाखेल पुर्याइने बताइएको छ ।
जेठ २४ गते छोलेपु पर्व मनाई मासु पोलेर खाई जात्रा मनाइन्छ । छोलेपुको भोलिपल्ट २५ गते भुज्या पर्व मनाइन्छ । भुज्याको भोलिपल्ट अर्थात् भोटो देखाइने अघिल्लो दिन अर्काे पटक पुनः नरिवल खसाल्ने परम्परा रहेको ७० वर्षीय ञँवाल सूर्यमान डंगोलले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६