काठमाडौं : चाबहिलबाट कपन जाने क्रममा गोपीकृष्ण हलनजिकै एक जना ‘आमा’ छाता ओढेर रोडको छेउछेउ ठेला गुडाउँदै जाँदै थिइन् । बेलुकीको ८ बज्न लागेको थियो । ठेलामा तीन-चार मुठा मात्र साग बाँकी थियो ।
पानी परिरहेको थियो, आकाशमा बिजुली चम्किनुको साथै आकाश पनि गर्जिरहेको थियो । मलाई उनीसँग कुरा गर्न मन लाग्यो । तर उनी चाँडोचाँडो हिँडिरहेकी थिइन् । म पनि उनी सँगसँगै जाँदै थिएँ । केहीछिनपछि मौनता तोड्दै मैले बोलाएँ, ‘आमा तपाईं कता बस्नुहुन्छ नि ?’
उनले भनिन्, ‘कपनमा हो नानी ।’ मलाई अझै कुरा गर्न मन लाग्यो । किनकि म पनि कपन नै जाँदै थिएँ । तर रातको ८ बज्न लागेकाे कारण उनी हतार गर्दै थिइन् ।
अनि मैले पनि भनेँ, ‘आमा म पनि कपन नै जाने हो नि ! सँगै जाऔँ न है ।’
अनि कुरा गर्दै हामी अगाडि बढ्यौँ । बाटोमा तरकारी व्यापारी आमाले आफ्नो र आफ्नो कामको बेलिबिस्तार लगाइन् ।
‘जीवन संघर्ष रहेछ । खटेर काम गर्न सके राम्रै हुने रहेछ, नभए दुख्खैदुःखको जंगोल त हो । हातमुख जोड्न पनि यति गाह्रो छ कि, लाग्छ कहिले त मेरो आयु पनि कति लामो रहेछ’, यसरी आफ्नै जीवन पनि भारी लागेको कुरा सुनाइन्, ओखलढुंगार्की ५२ वर्षीया कुमारी कार्कीले ।
उनको स्थायी घर ओखलढुंगा रहेछ । तर काठमाडाैंमा आएर तरकारी व्यापार गरेको नै २२ वर्ष बितिसकेछ । जीवन गुर्जानकै लागि तरकारी व्यापार गरिरहेको उनले सुनाइन् ।
काठमाडौंको मूलपानीबाट तरकारी ल्याएर, ठेलामा गुडाउँदै चाबहिल गोपीकृष्णदेखि कपनको तेञ्जिङ चोकसम्म तरकारी बेच्नका लागि पुग्ने उनी बताउँछिन् । उनी भन्छिन्, ‘दिउँसोको ४ बजेदेखि ठेलामा तरकारी राखेर गुडाउँदै हिँड्छु, कहिले छिटै सकिन्छ, कहिले धेरै समय लाग्छ । सधैँ एउटैै समयमा सकिँदैन । बेचिसकेर घर पुग्दा बेल्काको ८ पनि बज्छ कहिले ९ पनि बज्छ ।’
२०५० सालदेखि काठमाडौं स्थायीरूपमै बसिरहेको उनी बताउँछिन् । गाउँमा खानबस्नका लागि प्रशस्त जग्गा नभएपछि काठमाडौंमा नै आएर जसोतसो जीवन धानिरहेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘काठमाडौं आएर करिब दुई वर्ष मकै पोलेर बेचेपछि आगो र धुवाँले गर्दा स्वास्थ्यमा असर पर्यो अनि तरकारी बेच्न सुरु गरेको हो ।’
‘तरकारी पनि दुई रूपैयाँदेखि बेच्न सुरु गरेको हो’, उनले सुनाइन्, ‘समयसालसगैँ सबै सामानको महंगी पनि बढ्यो, तरकारीको पनि भाउ बढिरहेको छ ।’
महिनामा चार हजार जति मात्र फाइदा हुने उनी बताउँछिन् । उनले तरकारी बेचेर कमाएकोमध्ये दिनमा ५० रूपैयाँ सहकारी संस्थामा खाता खोलेर बचत पनि गर्दै आएकी छिन् । बाँकी चामल र नुनतेल किन्दा नै पैसा सकिन्छ । ‘यो तरकारी बेचेर केही पनि फाइदा हुँदैन, बाध्यताले यो काम गरिरहेकी छु’, उनी भन्छिन्, ‘खै अब अरू काम गर्न सकिँदैन । यही तरकारी बेचेर हिँडिरहेकी छु, बूढा ६० वर्षका छन्, तर पनि ज्यामी काम गर्दै छन् । घर धान्न साह्रै समस्या छ नानी !’
आठ जनाको परिवारमा तीन छोरीको बिहे भइसकेको रहेछ । तीन जना छोराहरू बिहे गर्न बाँकी छन् । छोराहरू पनि नेपालमै सानोतिनो काम गरिरहेको बताइन् । उनी भन्छिन्, ‘विदेशमा नेपालमा भन्दा झन गाह्रो छ, त्यही भएर छोराहरूलाई विदेश पठाउन मन लागेन । दुःखसुख सँगै बसिरहेका छौँ ।’
नेपालमा यसरी दुःख गरेर जीविकोपार्जन गरिरहेका ‘आमा’ हजारौँ छन् । शायद यस्तो कथा धेरै नेपाली आमाहरूको मिल्दोजुल्दो छ । उनी त एक प्रतिनिधि पात्र हुन्, जसको कहानी लेख्न आज हामीलाई अवसर मिलेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ १०, २०७६