काठमाडौं: सगरमाथा क्षेत्रमा भेटिएका चार वटा शव बिहीबार काठमाडौं ल्याइएको छ ।
सगरमाथा सरसफाइ अभियान- २०७६ ले सरसफाइका क्रममा सगरमाथा क्षेत्रमा उक्त शवहरु भेटाएको थियाे । ल्याइएका शव पहिचान नखुलेकाले पोस्टपार्टमका लागि शिक्षण अस्पताल महराजगञ्ज लगिएकाे छ ।
अभियानका महासचिव कुल गुरुङले १२ दिनअघि भेटिएका शव काठमाडौं ल्याइएको जानकारी दिए । गुरुङले भने, १२ दिन अघि सगरमाथा क्षेत्रमा भेटिएका शव ल्याएका हौं। कंकालहरु भेटिएकाले ७/८ वर्ष पुरानो शवजस्तो देखिन्छ। तर यकिन गर्न सकिन्नँ ।
सगरमाथा आरोहणका क्रममा हरेक वर्ष आरोहीको मृत्यु हुने गर्छ। शव निकाल्न खर्चिलो र कठिन हुने भएकाले पनि पुराना शवहरु अझै रहेको अनुमान गरिएको छ।
यही सिजनमा मात्र तीन जनाको ज्यान गइसकेको छ। बुधबार एक अमेरिकीको मृत्यु भएको थियो भने यसअघि एक भारतीय र एक आइरिसको मृत्यु भएको थियो।
तस्बिरः पहिलाेपाेस्ट
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६