काठमाडौं : चार वर्षअघिको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसूति गृहको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।
एक महिनाभित्रमा दुवै भवन सञ्चालनमा ल्याइने अस्पताल प्रशासनले जनाएको छ । पुनःनिर्माण कार्यक्रम अन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् पुनःनिर्माण गरिएको हो ।
प्रसूति गृहको अत्याधुनिक मुख्य भवनमा एक सय ९२ वटा श्यया छन् । गृहको भवनमा आकस्मिक (इमरजेन्सी) डेलिभरी रुम, बर्थिङ सेन्टर, पोस्ट शल्यक्र्रिया वार्डलगायतका सेवा हुने छन् । प्रसूति गृहका प्रशासक रानु थापाले भवन पुनःनिर्माण सकिएको बताउँदै आन्तरिक रुपमा संरचना मिलाउने काम भइरहेको बताए ।
वीर अस्पतालको भवनमा भने ९४ श्यया छन् । नयाँ भवनमा कार्डियोलोजी, ग्यास्ट्रोलोजी, नेफ्रोलोजी वार्डलगायत हुने छन् । पुनःनिर्माण भइरहेका दुवै अस्पतालको निरीक्षणपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनःनिर्माणमा अवलम्बन गरिएको अझै राम्रो र बलियोको अवधारणा अनुसार स्वास्थ्य संस्थाको पुनःनिर्माण भइरहेको बताए ।
सुविधा सम्पन्न पूर्वाधार भएका संरचनाबाट स्वास्थ्यसेवा प्रदान गर्दा सरकारी अस्पतालप्रति जनताको विश्वास अझ बढ्ने धारणा उनको थियो । वीर अस्पतालका निर्देशक डा केदारप्रसाद सेञ्चुरीले भवनको पुनःनिर्माण अन्तिमचरणमा पुगेको जानकारी दिँदै उद्घाटनपछि सञ्चालनमा ल्याइने बताए ।
प्रसूति गृह र वीर अस्पताल पुनःनिर्माणको लागत दुई अर्ब १० करोड (२.४ बिलियन जापानी येन) जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का पुनःस्थापना तथा पुनर्लाभ कार्यक्रमका सल्लाहकार नानाको स्युकाहाराले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६