झापा : झापामा सुतिरहेकी महिलामाथि मध्यरातमा अज्ञात व्यक्तिबाट धारिलाे हतियार प्रहार गरी हत्या प्रयास भएकाे छ ।
अज्ञात समूहको प्रहारबाट मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारीकी ४१ वर्षीया आरती चौहान बुढाथोकी गम्भीर घाइते भएकी हुन् । घाइते चौहानको आम्दा अस्पताल धुलाबारीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।
घरमा सात वर्षीया छोरी अर्पणसँगै सुतिरहेकी चौहानलाई बुधबार मध्यरातमा आएका अपरिचित दुई जना व्यक्तिले खुकुरी प्रहार गरेका थिए । राति खाना खाएर आमाछोरी एउटै कोठामा सुतेका अवस्थामा अपरिचित व्यक्तिहरु कोठामा प्रवेश गरी आमाको टाउकोमा खुकुरी प्रहार गरेको छोरी अर्पणाले बताएकी छिन् ।
आरती कोठाभित्र अर्धनङ्ग अवस्थामा बिहान भेटिएकी थिइन् । कोठा रक्ताम्य थियो । बिहीबार बिहान अर्पणाले झ्यालबाट कराएर बोलाउँदा घटनाबारे स्थानीयले थाहा पाएका थिए ।
बालिका कराएपछि हेर्न जाँदा बाहिरबाट ढोकामा चुक्कुल लगाइएको भेटिएको स्थानीयहरुले बताएका छन् । घटनाबारे स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीमा खबर गरेपछि इलाका प्रहरी कार्यालय र काकँडभिट्टाको टोली घटनास्थल पुगेकाे थियाे ।
घटनाबारे अनुसन्धान सुरु गरिसकेको र खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६