काठमाडौं : नेपालको राष्ट्रिय जनावर गाई हो । तर त्यही गाईलाई आफ्नो स्वार्थ पूरा भएपछि सडकमा छाडा छोड्ने चलन छ हामी नेपालीको । तिनै सडकमा छाडा छोडिएका गाई–बाछालाई केही व्यक्तिहरूले अभियान नै चलाएर संरक्षण प्रयास गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकास्थित त्रिभुवन विमानस्थलको उत्तरतर्फको खुला मैदानमा करिब दुई दर्जन गाईबाछा जम्मा गरी संरक्षण सुरु गरिएको हो । यसरी जम्मा गरिएका गाईबाछालाई नुनपानी, घाँस लगायत खाना खुवाए पनि गोठ नहुँदा खुला आकाशमुनि राखिरहेको र त्यसको व्यवस्था गर्न प्रयास भइरहेको जनाइएको छ ।
बागमतीको किनारमै घाँसे मैदानसमेत रहेकाले गाईबाछालाई चरनको व्यवस्था पनि भएको छ । यसरी जम्मा गरिएका गाईबाछालाई स्वस्फूर्त रुपमा दाताले खानेकुराको व्यवस्था गर्न थालेका छन् ।
बिहान सबेरै गोठाटारबाट कृष्णप्रसाद चापागाईं सख्खर बोकेर आए । राष्ट्रिय जनावरका रुपमा सम्मान गरिने र लक्ष्मी माताका रुपमा पूजा गरिने गाईबाछा सडकमा भौँतारिएर बिजोग अवस्थामा पुगेको थाहा पाएपछि संरक्षणका लागि भएको प्रयासमा आफूले थोरै सहयोग गरेको उनले सुनाए ।
गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट विनीत अर्याल बोराभरि हरियो तरकारी लिएर आए । कागेश्वरी मनोहरा नगरपालिकामा फोहरमैला व्यवस्थापनसम्बन्धी काममा संलग्न रविन भट्टराई पाँच किलो ढुटो र नुनसहित बाछाबाछीलाई पानी खुवाउन आइपुगे ।
जेठ १ गतेदेखि अभियानकर्मी नित्य कर्मका रुपमा बाछाबाछीलाई पानी खुवाउन सक्रिय हुने गरेको यसको नेतृत्व गरिरहेका मानवअधिकारकर्मी उत्तम पुडासैनीले बताए ।
‘बाछाहरू हामीलाई पर्खेर बसिरहेका हुन्छन्, दुई दर्जन बाछा आँत भरिने गरी पानी पिउन पाउँदा खुसी देखिन्छन्, यो सेवामुखी कामप्रति मानिसको चासो र चिन्ता पनि बढ्न थालेको छ, वर्षाको समय सुरु हुन लागेकाले यी गाईबाछाका लागि बास वनाउनु चुनौतीपूर्ण छ, त्योभन्दा बढी चुनौती त यो समस्याप्रति नीति निर्माताको ध्यानाकर्षण गराउनु आवश्यक बनेको छ’, उनले भने ।
गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा अहिले पनि धेरै गाई पालिएका छन् । गाईको बाच्छी जन्मिए घरमै राख्ने र बाछा जन्मिए अलि ठूलो भएपछि बागमती किनार, खुला सडकलगायत स्थानमा लगेर छोडिदिने समस्या मौलाएको छ । प्राणीको न्यायका पक्षमा नैतिक तथा कानुनी लडाइँ लड्ने सोचसहित अभियानकर्मी जुर्मुराएका छन् ।
बेवारिसे अवस्थामा रहेका राष्ट्रिय जनावरको रक्षामा कुनै सम्झौता नगर्ने अभियानकर्मीको प्रतिबद्धता छ । असारे झरीको सामना गर्नुपूर्व नै कम्तीमा पानी थेग्ने ओतको व्यवस्था गर्ने कामलाई अभियानकर्मीले मूल लक्ष्य बनाएका छन् । हाललाई सरकारी स्वामित्वमा रहेको कुनै पनि जग्गालाई आधार मान्दै अस्थायी आश्रयस्थल निर्माणको सोच अघि बढाइएको छ ।
जेठ १ गते सडकबाट उद्धार गरी ल्याइएको धेरै बाछा अशक्त थिए । आठ दिनसम्म खानपिनको व्यवस्थापछि तंग्रिएका छन् । सुरुमा घिच्याएर पानी खाने ठाउँसम्म लैजानुपर्ने अवस्थाबाट अहिले आफैँ जान सक्ने भएका छन् । शरीरमा शक्ति भरिएपछि बाछाहरू एकापसमा जुध्न र खेल्न थालेका छन् । विस्तारै प्राण भरिन थालेको अनुभूति हुन थालेको सुरुको दिनदेखि बाछाको हेरचाहमा लागेका अभियानकर्मी बताउँछन् ।
आश्रयस्थल निर्माणका लागि सहयोगी हातहरू पनि जुर्मुराउन थालेका छन् । बाछाबाच्छीका लागि ३२ केजी मकैकोे पीठोको व्यवस्थासहित आएका स्थानीय शम्भु पुडासैनी राष्ट्रिय जनावर भनी सम्मान गरिने र गौमाताका रुपमा पूजा गर्नेले पनि सडकमा बाछा छोड्ने गरेको आफ्ना आँखाले देखेको सुनाउँछन् । गाईको दूध खाने तर बाछालाई सडकमा छोडेर बेवारिसे बनाइरहेको हेर्दा मानिसमा मानवीय संवेदना हराउन थालेको अनुभव हुन लागेको उनले बताए ।
यसका लागि कानुनी व्यवस्था नै गर्नुपर्ने अभियानकर्मीको माग छ । गाई बाछा संरक्षण अभियानले यसअघि गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै खुला ठाउँमा लगेर छोड्ने काम बन्द गराउन कानुनी एवं नीतिगत व्यवस्था गर्न माग गरेका थिए । तर दुवै नगरपालिकाले बेवास्ता गरेका छन् ।
गाउँठाउँमा पुगेका स्थानीय सरकारले नसुने पनि सहयोग गर्न चाहनेको संख्या थपिँदै गएको छ । जन्मदिनलगायत विशेष समारोहका बेला मानिस गाईबाछाका लागि केही लिएर आउन थालेका छन् । गाईबाछाका लागि पानी खुवाउने काममा पनि स्वयंसेवी सक्रिय हुन थालेका छन् ।
त्रिभुवन विमानस्थल निर्माण हुनुअघि गौचरणका रुपमा रहेको चौरमा हजारौँ गाई चर्थे । पशुपतिनाथको गुठीका रुपमा रहेको सो जग्गामा विमानस्थल बनेसँगै गाई चर्ने चरणको अभाव भयो । त्यसपछि मानिसले घरमै बाँधेर वा साना चरणमा चराउन थाले । यता कालोपुलसँगैको सानो गौचरणमा पनि खेलमैदान बन्यो ।
मानिसले आफूले उपयोग गरिरहेको स्थान कसैले अतिक्रमण गरे विरोध गर्छन् तर यी अबोध प्राणीका पक्षमा बोलिदिने कसले भन्ने प्रश्न जीवन्त बन्न थालेको छ । बाछा संरक्षण अभियानले भने जुनसुकै स्थानमा छाडा छोडिएका बाछा गोठाटारस्थित संरक्षण स्थलमा पु¥याइदिए, त्यसका लागि सकेको गर्ने वाचा गरेको छ । –रासस
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६