कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरूका लागि हिजोआज नेपालगन्ज केन्द्र बन्न थालेको छ ।
नेपालगन्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एकपछि अर्को नयाँ होटलहरू बनिरहेका छन् । पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगन्जमाथि कैलाशपति महादेवको बरदान बर्सिएको छ ।
नेपालगन्जको भाग्य चम्किनुको अर्काे कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्वार पनि नेपालगन्ज नै हो । मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । मानसरोवर चीनमा परेपछि पर्यटकले त्यहाँ नपुगुञ्जेलसम्म नेपालमा खर्च गर्छन् । अधिकांश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरूले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गर्छन् । अहिले पर्यटनका लागि उपयुक्त मौमस होइन तर, यही बेमौसमी ‘टेको’ भारतीय पर्यटकले धानेका छन् ।
मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाख महिनाको मध्यदेखि भदौ महिनासम्म (मे महिनादेखि सेप्टेम्बर महिनासम्म) भए पनि बेमौसममा पर्यटकको रौनक नेपालगन्जमा देखिँदै छ । मानसरोवर–कैलाश पर्वत भ्रमणको रुचि औधी रहेकाले यही बेमौसमको ‘टेको’ भारतीयले धानेका छन्’, होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले बताए ।
नेपाल–भारत व्यापारिक नाका नेपालगन्ज हुँदै तिब्बतको कैलाश मानसरोवर जाने याम सुरु भइसकेको छ । होटल व्यवसायीहरूले कमाउने खास समय पनि यही हो । हिन्दू धर्मावलम्बीहरू जीवनमा एकपटक पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर पुग्ने आकांक्षा राख्छन् । याम सुरु भएसँगै नेपालगन्ज हुँदै मानसरोवरतर्फ प्रस्थान गर्ने गर्छन् । मे महिनाबाट याम सुरु भएको छ । ठूलोे संख्यामा मानसरोवर जाने पर्यटकहरू नेपालगन्ज भित्रिन थालेका छन् ।
मानसरोवर तीर्थाटनका लागि जानेमा अधिकांश यात्रु भारतीय हुन्छन् । यो ठाउँ समुद्री सतहबाट करिब छ हजार पाँच सय मिटर उचाइमा छ । मानसरोवर ताल कैलाश पर्वतको फेदी हो । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । पछिल्लो समयमा नेपालीहरू पनि मानसरोवर यात्रामा जाने गरेका छन् ।
यसरी फेरियो भाग्य
नेपालगन्ज अतीतदेखि नै पश्चिम नेपालको सबैभन्दा ठूलो शहर, वाणिज्य तथा प्रशासनिक केन्द्र रहँदै आएको छ । द्वन्द्वकालमा पश्चिम पहाडी क्षेत्र अशान्त बनेपछि नेपालगन्ज तथा आसपासमा ठूलो संख्यामा मानिस ओइरिए । पश्चिम नेपालमा शान्तिको प्रयास गर्ने अनेक संघसंस्थाले नेपालगन्जलाई मुकाम बनाए । द्वन्द्वकालपछि नेपालगन्जको भाग्य अलि सुस्त भएको थियो तर, अहिले अवस्था फेरिएको छ ।
अवस्था फेरिनाको मुख्य कारण हो कैलाश मानसरोवर जाने भारतीय यात्रुहरूको मार्ग नेपालगन्ज बन्न थाल्नु । यहाँ भारतीय पर्यटकहरूको ओइरो लाग्न थालेको छ । कैलाश मानसरोवर जाने भारतीय तीर्थालुहरूको मुख्य मार्गका रूपमा नेपालगन्जको भाग्य चम्कन थालेको हो । भारतीय तीर्थालुहरू विमानबाट काठमाडौं हुँदै नेपालगन्ज आइपुग्छन् । स्थलमार्गबाट आउनेहरू रूपैडिहा नाका हुँदै नेपालगन्ज छिर्छन् । नेपालगन्ज आइपुग्ने तीर्थयात्रीहरू हुम्ला हुँदै मानसरोवर पुग्छन् ।
कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो । चीनमा पर्ने मानसरोवर पुग्न भारतबाटै पनि मार्ग नभएको होइन तर नेपालबाट जति सुरक्षित छैन । बेलाबखत हुने भारत र चीनको द्वन्द्वका कारण मानसरोवर जाने यात्री समस्यामा पर्छन् । त्यसैले पनि भारतीय तीर्थालुहरूको मार्ग नेपाल हो र नेपालको पनि नेपालगन्ज हो । नेपालगन्जबाट हुम्लाको सिमीकोट हुँदै मानसरोवर जान सकिन्छ ।
पछिल्लो समया नेपालमा छाएको शान्तिले पनि भारतीय तीर्थालुहरूको मानसरोवर जाने मार्ग नेपालगन्ज बनेको हो । शान्तिले समृद्धि ल्याउँछ भन्ने उक्ति यथार्थमा परिणत भएको महशुस नेपालगन्जवासीले गर्न थालेका छन् । नेपालगन्जलाई भारतीय तीर्थालुहरूले चुन्नाका अर्काे कारण हो भारतको दिल्ली र लखनऊ हुँदै नेपालगन्ज पुग्ने ६ लेनको सडक । भव्य सडक बनेपछि नेपालगन्जमा पर्यटकको आगमनसँगै आर्थिक गतिविधिले पनि तीव्रता पाउन थालेको छ ।
ओइरिँदै पर्यटक, थपिँदै होटल
नेपालगन्ज नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न जान अहिले दैनिक सयौंको संख्यामा भारतीय पर्यटकहरू नेपालगन्ज पुग्न थालेका छन् । भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगन्जका प्रायः सबै ठूला र मध्यम होटलहरू भरिभराउ हुँदै गएका छन् । भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका यात्रीहरू नेपालगन्ज भएर मानसरोवर पुग्ने गरेका छन् ।
गत वर्ष मात्रै करिब १० हजार भारतीय पर्यटक नेपालगन्जबाट हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवर गएका थिए । गतवर्ष करिब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका थिए । यीमध्ये करिब पाँच हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगन्ज आएका थिए भने बाँकी यात्रु लखनऊ रूपैडिया हुँदै आएका थिए ।
यसवर्ष यो संख्या बढेर करिब २५ हजार पुग्ने अनुमान छ । तिब्बती मार्ग नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गइरहेकाले संख्या बढ्दै जान थालेको छ । मानसरोवर जाने पर्यटकको संख्या बढेसँगै यहाँ होटलसहित अन्य पर्यटन व्यवसाय फस्टाएको बताउँछन्, उपाध्यक्ष काफ्ले ।
वैशाखदेखि असोजसम्म काठमाडौं–नेपालगन्ज हवाई उडानको संख्या दोब्बर हुने गरेको छ । नेपालगन्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटासम्म उडान हुने गरेका छन् । मानसरोवरलाई गन्तव्य बनाएर नेपालगन्ज आइपुग्ने भारतीय पर्यटक निकै स्तरीय (खर्च गर्ने क्षमता भएका) छन् । यस्ता पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगन्जमा धमाधम तारे होटलहरू थपिँदै छन् ।
नेपालगन्जसँगै जोडिएको शहर कोहलपुरमा सेन्टर प्लाजा होटलले आफ्नो सेवालाई बढाउँदै लगेको छ । नेपालगन्जमा सोल्टी, सिद्धार्थ भ्यूू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट कृष्णा, कलपत्रु जस्ता ठूला र सुविधा सम्पन्न होटलसहित करिब दुई दर्जन साना होटल थपिएका छन् । पर्यटक बढेपछि होटल व्यवसायीहरू पनि उत्साहित भएको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउँछन् ।
उनीहरूले क्षमता सँगसँगै सेवाको गुणस्तर पनि बढाएका छन् । नेपालगन्जका होटलहरूले दैनिक एक हजार पर्यटकहरूलाई स्तरीय आतिथ्यता दिन सक्छन् । नेपालगन्जका पर्यटन व्यवसायी प्रशान्त शाह भन्छन्, नेपालगन्जको भविष्य अझ सुनौलो छ । मानसरोवरको प्रमुख नाका यही हो । भारतीय पर्यटकलाई नेपाल आउन सहज छ । सडक सञ्जालका कारण पनि भारतीयको संख्या बढिरहेको छ । फलतः नेपालगन्जको पर्यटन उद्योग मौलाएको छ । –रासस
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६