काठमाडौं : देशकाे राजधानी काठमाडाैं उपत्यकामा सवारी चाप, ट्राफिक नियम उल्लंघनलगायत कारणले दुर्घटनाको जोखिम दिनानुदिन चुनौती बन्दै गएको छ ।
काठमाडौं उपत्यकाभित्र मात्र दैनिक दर्जनौं दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाउँछ ।
ट्राफिक प्रहरीको पछिल्लो तथ्याङ्कअनुसार नियम मिचेर कार्बाहीमा पर्नेकाे संख्या निकै ठूलाे छ । यसैकारण दुर्घटना न्यूनीकरण हुन नसकेको प्रहरी बताउँछ ।
गएकाे सोमबार मात्र काठमाडौं उपत्यकाभित्र २७ स्थानमा दुर्घटना भए भने उक्त दुर्घटनामा २० जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । सोही दिन ट्राफिक निययम उल्लंघन गरेका १६ वटा सवारी साधनलाई कार्बाही गरिएको ट्राफिक प्रहरी महाशाखा काठमाडौंका प्रवक्ता जयराज सापकोटाले बताए ।
त्यस्तै मंगलबार ४४ वटा सवारी साधनलाई प्रदूषण जाँच गर्दा २९ वटा फेल भएको भेटिएका छन् । फेल भएका साधनलाई कार्बाही गरिएको छ । साथै १७२८ सवारी साधनले ट्राफिक नियम मिचेका छन् भने सोही दिन काठमाडौंका विभिन्न स्थानमा ३० सवारीसाधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
त्यस्तै मंगलबार काठमाडौं उपत्यकाभित्र १६२८ वटा सवारी साधन नियम मिचेबापत कार्बाहीमा परेका छन् । उपत्यकाका विभिन्न स्थानमा २३ सवारी साधन दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । काठमाडौं उपत्यकाभित्र १२ लाखभन्दा बढी सवारी साधन रहेको ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।
दैनिक तथ्याङ्क हेर्दा काठमाडौंभित्र दैनिक १५ सयदेखि दुई हजार हाराहारीले नियम मिचेका हुन्छन् भने औसत २० देखि ३५ सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । ट्राफिक नियम मिच्ने साधनहरूमा सबैभन्दा बढी लेन अनुुशासन तोडेका, फुटपाथमा रोकेका, मापसे गरी चलाएका आदि छन् । पछिल्लो समय प्रविधिको प्रयोग भएपछि कार्बाहीमा पर्ने सवारीसाधनकाे संख्या बढेको छ ।
ट्राफिक प्रहरी छैन भन्दै नियम मिच्ने सवारी चालकलाई सिसी क्यामेराको मद्दतमा समेत कार्बाही गर्दै आएको प्रवक्ता सापकोटाले बताए ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६