काठमाडौंमा मनोरोगीहरूका लागि घर भाडामा पाउन समस्या भएकाे छ । मनोरोगीहरूले जुनसुकै समयमा जस्तो पनि दुव्र्यवहार गर्ने भन्दै घर तथा काेठा भाडामा पाउन समस्या भएकाे हो ।
यस्तै समस्या परेको छ, ललितपुरस्थित नेपाल स्नेही काखलाई पनि । विगत नौ वर्षदेखि बस्दै आएको घरको सम्झौता सकिन अब करिब दस महिना मात्र बाँकी छ । १० वर्षसम्मको सम्झौता सकिन लागेको र अब त्यहाँबाट अर्को ठाउँमा सनुपर्ने भएका कारण नेपाल स्नेही काख नामक संस्थालाई समस्या भएको हो ।
घर खोज्न सुरु गरेको करिब सात महिना बितिसक्दा पनि कुनै ठाउँमा घर पाउने अत्तोपत्तो छैन । मनोरोगीहरूको सुरक्षित बास तथा व्यवस्थापनका लागि घर खोज्नका लागि विभिन्न ठाउँमा सोध्ने क्रममा घरधनीहरूले पहिले घरभाडामा दिनका लागि तयार भए पनि मनोरोगीहरूका लागि भनेपछि पछि हट्ने गरेको नेपाल स्नेही काखकी सञ्चालक नेहा पोखरेलले गुनासो गरिन् ।
उनी भन्छिन्, ‘के मनोरोगी भनेपछि सबै डराउनुपर्छ त ? उनीहरूलाई त फकाएर हुन्छ कि माया गरेर हुन्छ, पहिलेको स्थितिमा ल्याउनका लागि सबैले सहयोग पो गर्नुपर्छ त । सहयोग गर्नु त कता हो कता, घरभाडामा पाउन पनि समस्या भइरहेको छ ।’
यस्तै विभिन्न ठाउँमा बेवारिसे अवस्थामा भेटिएका मनोरोगीहरूलाई आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न पनि उनले आग्रह गरेकी छिन् । उक्त संस्थामा ४४ जना मनोरोगी र नौ जना अनाथ बालबालिका आश्रित छन् । जसमा १४ जना पुरष र ३० जना महिला मनोरोगी छन् ।
संस्था सञ्चालक पोखरेलका अनुसार केही समयअगाडि मात्र बनेपाको नाला र पाटन अस्पताल नजिकैबाट दुई जना महिलालालाई उद्धार गरिएको छ । नेपाल स्नेही काखले बेवारिसे अवस्थामा भेटिएका मनोरोगी तथा अनाथ बालबालिकालाई विगत नौ वर्षदेखि उद्धार गरी आश्रय दिँदै आएको छ ।
के कारणले हुन्छ मनोरोग
शरीरका समस्त जैविक प्रक्रियाहरू मस्तिष्ककै नियन्त्रणमा सन्तुलित रहन्छन् । मुटु, कलेजो, मृगौला, इन्द्रियहरू, पाचन, यौन अवयवहरू, शरीरका सबै अंग मस्तिष्कको इशारामा सुचारु चल्ने हुन् । व्यक्तिको व्यवहार, सोचाइ, अनुभव, आभास, चेतना, ध्यान, एकाग्रता, स्मरण, ज्ञान, अमूर्तता, बोध, निर्णय, विवेक, अन्तरज्ञान जस्ता उच्च मानसिक प्रक्रियाहरू सञ्चालन गरेर यसले मानिसलाई मानव पनि बनाउँछ ।
मानव मस्तिष्कका कुनै पनि काम गराइ, चाहे उच्च मानसिक क्रियाकलापमा होस् वा जैविक प्रक्रियाको नियन्त्रणमा होस्, तिनमा गडबढ भएमा मानसिक समस्याको उत्पत्ति हुन्छ । यस्ता गडबडीले व्यक्तिको दैनिकी र अन्य पक्षमा असर गरेको, बेचैन पारेको अवस्थामा मनोरोग भएको मानिन्छ ।
कस्तो हुन्छ मनोरोगीको लक्षण
संसारमा करिब एकचौथाई मानिसलाई सामान्य र दुई प्रतिशतलाई गम्भीर खालको मनोरोग हुने गर्छ । हालसम्म पाँच–छ सय थरिका मनोरोगहरू देखिएका छन् । सबभन्दा बढी मानिसलाई विकलांग बनाउने १० प्रमुख बिमारीहरूमा पाँच रोगहरू मनमस्तिष्कसँग सम्बन्धित छन् ।
उदासीन (Depression), आत्तिने (Anxiety), लागूपदार्थ र नसाको दुव्र्यसन, स्किजोफ्रेनिया, रोग, सुस्त मनस्थिति, Bipolar afective Disorder, शारीरिक रूपमा प्रष्ट नहुने लक्षणहरूको बिमारी (Somatoform Disorder), हिस्टेरिया, तनावजन्य लगायत बाल्यावस्था वा किशोरावस्थाका मानसिक समस्याहरूको मार धेरै देखिन्छ ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६