काठमाडौं : नगर प्रहरीले काठमाडौंका विभिन्न स्थानमा अवैधानिक रुपले पार्किङ गर्ने नौ हजार सात सय २५ मोटरसाइकल तथा स्कुटरलाई कार्बाही गरेको छ ।
नगर प्रहरीले महानगरीय ट्राफिक प्रहरी महाशाखासँगको सहकार्यमा काठमाडौंको पुतलीसडक, दरबारमार्ग, लाजिम्पाट, बानेश्वर, कोटेश्वर, कलंकीलगायतका फुटपाथ क्षेत्रमा अवैध रूपमा पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणमा लिएर कार्बाही गरेको हो ।
नगर प्रहरी महाशाखा बग्गीखानाका प्रहरी नायब निरीक्षक श्यामप्रसाद तिमल्सेना ‘नो पार्किङ’ र फुटपाथमा पार्किङ गरेको मोटरसाइकल तथा स्कुटरलाई नगरपालिकाको गाडीमा बग्गीखाना ल्याएर कार्बाही गर्ने गरेको बताउँछन् । ‘दैनिक ५० देखि ८० मोटरसाइकल तथा स्कुटर कार्बाही गर्दै आएका छौँ’, उनले भने । नगर प्रहरीले यसरी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई कागजपत्र हेरेर एक हजार जरिवाना गर्दै आएको छ ।
नगर प्रहरीले चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म ९७ लाख २५ हजार राजस्वसमेत संकलन गरेको छ । नगर प्रहरीले जथाभावी पार्किङ गर्ने मोटरसाइकल तथा स्कुटरलाई नियन्त्रणका लागि १५ नगर प्रहरी खटाएको छ भने उनीहरूलाई ट्राफिक प्रहरीले सहयोग गर्दै आएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मोटरसाइकल तथा स्कुटरलाई मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन कार्बाही, हर्न कार्बाही, सिसी क्यामरा कार्बाही, हेल्मेट नलगाउनेलाई कार्बाही गर्दै आएको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्त कार्बाहीसँगै उपत्यकाको सवारी दुर्घटनामा कमी आउने बताउँछन् ।
“सडक सवारीका लागि र फुटपाथ सर्वसाधारणका लागि भएकाले फुटपाथमा जथाभावी पार्किङ गर्ने सवारी साधनलाई कार्बाही गरेका हौँ,” उनले भने । यातायात व्यवस्था विभागका अनुसार २०७५ फागुनसम्म काठमाडौं उपत्यकामा नौ लाख २१ हजार नौ सय १७ मोटरसाइकल तथा स्कुटर सञ्चालनमा छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ८, २०७६