विराटनगर : मंगलबार एकाबिहानै देशभरका प्रायः सबै सञ्चार माध्यममा एउटा खबरले सनसनी मच्चायो । पूर्वी नेपालको पाँचथरमा भएको नौ जनाको हत्याले सबैको ध्यान खिच्यो । सो घटनामा दुई परिवारका नौ सदस्यको वीभत्स तवरले हत्या गरियो । हत्याकाण्डमा भाग्यले बाँचेकी एक किशोरी भने अहिले उपचारका क्रममा झापाको दमकमा छन् ।
ज्यान जोगाउन भागेर नजिकैको एक घरमा आश्रय लिएकी १४ वर्षीया सीता खुजुमले आजको न्युजसँग भनिन्, ‘म एक्लै थिएँ, भागेर नजिकैको बजुको घरमा गएर लुकेर बसेँ ।’ वंश नै नाश हुने गरी भएको सो हत्यामा सीताले आफ्ना हजुरबा, हजुरआमा, दिदी र अन्य आफन्तलाई गुमाउन पुगिन् तर उनलाई भने भाग्यले बचायो । सीता मावलीका हजुरबा, हजुरआमासँग बस्दै आएकी थिइन् । उनको अहिले दमकको लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।
भाग्ने क्रममा लडेर हातमा चोट लागेको उनको हातमा चारवटा टाँका लगाइएको छ । सामान्य अवस्थामा रहेकी सीताले भनिन्, ‘हामी चार जना एकै ठाउँमा सुतिरहेका थियौँ । रातीको करिब १ बजेको थियो होला । एक जना मुखमा गलबन्दी बाँधेको मानिस कोठामा पस्यो । आएर त्यसले हामीलाई कुट्न थाल्यो । त्यसपछि म भागेँ ।’
आफू भागेपछि त्यहाँ के भएको हो आफूलाई थाहा नभएको उनले बताइन् । सीताले घरमा आएर कुटपिट गर्ने मानिसले ढोका बन्द गरेर कुटपिट गरेको बताइन् । उनले बाहिर हजुरबा सुतेको आफूलाई थाहा भएको बताउँदै भनिन्, ‘त्यो मान्छेसँग हातमा टर्च लाइट पनि थियो । ढोका बन्द गरेर कुटपिट गरेपछि हल्ला पनि भयो ।’ त्यो बेलामा हातमा अरू केही नदेखेको र आफू भागेर गएपछि अरू के भयो थाहा नभएको उनको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६