रोल्पा : रोल्पा नगरपालिका–८ जङ्कोटकी १२ वर्षीया सीता वली शुक्रबार बेलुका काफल टिप्न जान्छिन् । टिपेको काफल बिक्रीका लागि शनिबार बिहानै उनी सदरमुकामतर्फ लाग्छिन् ।
उनको घर जङ्कोटदेखि सदरमुकाम लिवाङ पुग्न करिब तीन घण्टाको बाटो हिँड्नुपर्छ । काफलको सिजन हो, अहिले म प्रत्येक शुक्रबार यसरी नै काफल टिप्न जान्छु र शनिबार बजारमा लगेर बिक्री गर्छु , उनले भनिन् । उनीसँगै काफल बेच्न आएकी सोही ठाउँकी कक्षा– ८ मा अध्ययनरत जमुना वलीले भनिन्, बुबाआमा कृषि पेसा गर्नुहुन्छ, हामीले भने जति पढाइ खर्च दिन सक्नुहुन्न । यसरी काफल बेचेर कमाएको पैसाले हामी कापीकलम किन्ने र नास्ता खाने गर्छौं ।
घरमा आफ्ना अभिभावक बेरोजगार हुँदा पनि सानो कक्षामा पढ्ने बालबालिकाले यो समस्या भोग्नुपरेको हो । आफू सानै उमेरको हुँदा आमा अर्कैसँग बिहे गर्नुभो रे, बुबा कता हुनुहुन्छ पत्तै छैन , काफल बेच्न सदरमुकाम आएकी कक्षा ७ मा अध्ययनरत सम्झना परियारले भनिन् । पढ्ने मन त साह्रै हो, तर के गर्नु बुबाआमा कसैको माया र साथ पाइनँ । तै पनि संघर्ष गरेर पढ्ने प्रयास गरिरहेकी छु , परियारको दुःखेसो छ । आफन्त चमेली परियारको घरमा बसेर उनी अध्ययन गरिरहेकी छिन् ।
यी त केही उदाहरण मात्र हुन् । अहिले काफलको सिजन हो । जिल्लाका अधिकांश जंगल क्षेत्रमा काफल पाइन्छ । शुक्रबार दिउँसो काफल टिप्न जाने अनि शनिबार बिहानै बजारमा पुर्याएर बिक्री गर्ने अधिकांश रोल्पाली बालबालिकाको अहिले दैनिकी जस्तै बनेको छ ।
काफलको सिजन छ, सबैले हामी जस्तै गरी काफल बेच्न जान्छन्, भने जति भाउ पाइँदैन । सहजै बिक्री पनि हुँदैन , टँुडिखेलमा काफल बेच्दै गरेकी जङ्कोट आधारभूत विद्यालय कक्षा ७ मा पढ्ने चमेली परियारले भनिन् ।
पहिलो पटक आउँदा त १५ रुपैयाँको एक गिलास पनि बेचियो, यसपालि १० रुपैयाँको एक गिलास पनि बिक्री भएन, अब के गर्ने र घर फर्काएर लाने त होला , परियारले भनिन् ।
शनिबार सदरमुकामका बजार बन्द हुने र स्थानीय सरकार गठन भएसँगै बजारमा देखिएको चहलपहलको कमीका कारण पनि ती बालबालिकाले बिक्रीका लागि ल्याएको काफल बिक्री हुन नसकेको स्थानीय व्यापारी रामकुमार केसीले बताए ।
अरु दिन काफल बिक्री गर्न आऊँ भने पढाइ छुट्छ, शनिबार बिक्री गर्न आउँदा बिक्री नै हुँदैन , उनीहरूको गुनासो छ । आफूहरूलाई खर्च नपुग्दा पढाइमा समस्या परेको गुनासोसमेत गरेका छन् । आफूहरूको पढाइसमेत प्रभावित भए पनि खर्च जुटाउनका लागि काफल बिक्री गर्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ ।
रोल्पामा दुई लाख २४ हजार पाँच सय छ जनामध्ये करिब तीन हजार दुई सय घरधुरी गरिबीको रेखामुनि छन् । गरिबीकै कारण जिल्लामा एक हजार सात सय बालबालिका विद्यालय बाहिर छन् । यसभित्र पनि असाहय र अनाथ बालबालिका सबैभन्दा बढी मारमा पर्ने गरेका छन् ।
साँझबिहान एक छाक जुटाउनकै लागि भए पनि अधिकांश बालबालिका इँटाभट्टा, होटेल, पसलमा श्रम गर्न बाध्य छन् । शिक्षा र बालबालिकाको क्षेत्रमा जिल्लामा विभिन्न संघ, संस्थाले काम गरिरहे पनि अझै धेरै संख्यामा बालबालिका विद्यालय बाहिर रहेका छन् ।
विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनका लागि र गरिबीकै कारण विद्यालयमा भर्ना भए पनि कापीकलम जुटाउनका लागि भए पनि काफल बेच्नुपरेको अवस्थाको अन्त्यका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६