तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा वर्षौदेखि बसोबास गर्दै आउनुभएका ६३ वर्षीय प्रेमबहादुर गुरुङको कच्ची घर विसं २०७२ को भूकम्पले भत्कियो । भूकम्पले घर भत्काएसँगै पूर्ण क्षतिको सूचीमा उनको नाम समावेश भयो । घर पुनःनिर्माणका लागि सम्झौता गर्ने बेलामा उनलाई आपत आइलाग्यो । कारण नागरिकता थिएन । नागरिकता नबनेका कारण उनले भूकम्पबाट क्षति भएको घर पुनःनिर्माणका लागि सम्झौता गर्न पाउनुभएन । नागरिकता नबनेकै कारण घर पुनःनिर्माण नहुने हो कि भन्ने चिन्ता अब प्रेमबहादुरलाई टरेको छ ।
नगरपालिका–१२ को क्रियाशीलतामा उनले आइतबार मात्रै नागरिकता प्राप्त गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँबाट नागरिकता लिएपछि खुशी हुँदै उहाँले भने, बल्ल नागरिकता पाएँ, अब घर बन्ने आशा जागेको छ ।
कास्की जिल्लाको साविक भरतपोखरी गाविसबाट वर्षौँ पहिला उहाँको परिवार फिरफिरे बसाइँसराइ आएको थियो । उनी सानै हुँदा बाबुआमाको मृत्यु भयो । जब उनी हुर्कंदै गयाे, उनको घरवार पनि त्यतै भयो । सार्वजनिक जग्गामा टहरो बनाएर बसोबास गर्दै आउनुभएका उनको हालसम्म पनि नागरिकता नभएको थाहा पाएपछि वडाध्यक्ष मनराज गुरुङको प्रयासमा उनकाे नागरिकता बनाईएकाे हाे ।
वडाध्यक्ष गुरुङका अनुसार कास्कीको साविक भरतपोखरी गाविस (हाल पोखरा महानगरपालिका वडा नं ३०) बाट सर्जिमन, मुचुल्का र इलाका प्रहरी कार्यालय बेलचौताराबाट फिरफिरेमा वर्षौँदेखि बसेको प्रमाणित गराएपछि गुरुङले नागरिकता प्राप्त गरे । वडाध्यक्ष गुरुङले भने, झन्झटिलो नेपालको कानून र किचलो कर्मचारीको प्रवृत्तिलाई पार गर्दै नागरिकताविहीन असहायलाई लामो समयको प्रयासपछि नागरिकता दिलाउन पाउँदा खुशी लागेको छ । गरीब, असहाय र अशिक्षित नागरिक राष्ट्रको पहुँचसम्म पुग्न नसक्ने रहेछ भन्ने नमिठो अनुभूतिसमेत आफूले यसक्रममा व्योहोरेको उनको अनुभव छ ।
यसैगरी प्रेमबहादुरको दाजु ६७ वर्षीय नरबहादुर गुरुङको कास्कीबाट नागरिकता जारी भएको र उनलाई समेत तनहुँबाट नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । दाजुभाइको नै नागरिकता बनेपछि भूकम्पबाट भत्किएको घर पुनःनिर्माणका लागि प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष गुरुङले जानकारी दिए। गुरुङ दाजुभाइले अर्काको खेती किसान र माछा मारेर जीवन निर्वाह गर्दै आउनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६