इलाम : लामो समयको आन्दोलनपछि चिया श्रमिक काममा फर्किएका छन् । चार दिनअघि श्रमिक र रोजगारदाताबीच सहमति भएको थियाो ।
रोजगारदाताले श्रमिक ज्याला कार्यान्वयन गर्न ढिला स्वीकृति दिएकाले उनीहरू सोमबारदेखि काममा फर्किएका हुन् । बगानमा ५१ श्रमिकमध्ये अहिले २५÷२६ जनाले मात्र काम गर्दै आएका छन् ।
चिया बगानमा कामको चटारो नहुँदा करार दरबन्दीका कर्मचारी कामविहीन भएका छन् । चिया टिप्नुको सट्टा फाँड्नुपर्ने र कम जनशक्तिले काम चल्ने हुँदा अन्य श्रमिकलाई फर्काइएको हो ।
बगानमा राम्रो चिया पत्ती नहुँदा तथा चियाको आम्दानी न्यून भएका कारण हाल स्थायी दरबन्दीका कर्मचारी मात्र काममा फर्र्किएको कन्याम चिया बगानका श्रमिक रमेश खड्काले बताए ।
चिया बगान व्यवस्थापनले तत्कालका लागि करार र अस्थायी दरबन्दीका कर्मचारी हटाइए पनि कामको समयमा बोलाउने जनाएको छ । नयाँ श्रम ऐनअनुसार ज्याला र अन्य सुविधा पाउनुपर्ने माग राख्दै गत चैत १७ गतेदेखि श्रमिक काम छाडेर आन्दोलनमा उत्रिएका थिए ।
निजी क्षेत्रबाट सञ्चालित बगानसँग सहमति भएपछि त्यहाँका श्रमिक फर्किएका थिए ।
प्रकाशित मिति: मंगलबार, जेठ ७, २०७६