विराटनगर : राजनीतिक क्षेत्रमा सक्रिय विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली सामाजिक र धार्मिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छन् । विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध विराटनगरका मेयर पराजुली मानवीय सेवामा पनि क्रियाशील छन् ।
केही महिनाअघि एक बालकलाई सडकबाट उद्धार गरेर चर्चा बटुलेका मेयर पराजुलीले सोमबार फेरि अर्को उदाहरणीय कार्य गरेका छन् । झापाको दमकमा सवारी दुर्घटनामा परेर घाइते भएकी एक वृद्धालाई रगत दान गरेर उनले मानवीय सेवाको उदाहरण दिएका हुन् ।
महानगरका प्रेस संयोजक कौशल निरौलाका अनुसार दुर्घटनामा परेर घाइते भएकी ७९ वर्षीया झुमादेवी वस्तीलाई उपचारको क्रममा रगत अभाव भएको थियो । वस्तीको उपचारका लागि बी पोजेटिभ रगतको आवश्यकता भएको जानकारी मेयर पराजुलीले जानकारी पाएपछि उनी आफैँ अस्पताल पुगेर रक्तदान गरेका थिए ।
विराटनगरको नोबेल अस्पताल पुगेर उनले उपचारका लागि रगत दान गरेका थिए । प्रेस संयोजक निरौलाले भने, ‘विराटनगरमा बी पोजेटिभ रगतको अभाव भएको थाहा पाएपछि उहाँ आफैँ अस्पताल पुगेर रक्तदान गर्नुभयो ।’ मेयर पराजुलीको यो ४२औँ रक्तदान हो ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६