काठमाडौं : भारतकी चर्चित बलिउड गायिका नेहा कक्करले काठमाडौंमा ‘लाइभ शो’ गर्ने भएकी छिन् ।
पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा काठमाडौंको लर्ड अफ दि ड्रिङ्क्स (एलओडी) मा जेठ २५ गते हुने विशेष शोमा उनले प्रस्तुति दिने भएकी हुन् । नेहा कक्करसँग उनका ब्यान्ड मेम्बर र यस सिजनका इन्डियन आइडलका टप टेन प्रतिस्पर्धीसमेत नेपाल आउन लागेको आयोजकले जनाएको छ ।
पर्यटन वर्ष २०२० लाई लक्षित गरेर नेहा र इन्डियन आइडलका टप टेनलाई नेपाल ल्याउन लागेको पारामाउन्ट इन्टरटेन्मेन्टका सञ्चालक जनार्दन ढुंगेलले बताए । ‘युवामाझ निकै लोकप्रिय रहेकी नेहाको नेपाल आगमनले भारतमा नेपालको विषयमा उल्लेख्य प्रचार हुने विश्वास छ’, जनार्दनले भने । नेपाल पर्यटन बोर्डले समेत सो लाइभ सोका लागि सहयोग गर्ने बताएको जनार्जनले बताए ।
नेहाले ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्स (एलओडी) मा प्रस्तुति दिन आफू नेपाल आउन लागेको भन्दै युट्युबमार्फत् जानकारी समेत गराएकी छन् । उनको नेपाल आगमनका लागि तयारी भइरहेको अर्का सञ्चालक दीपक घिमिरे बताउँछन् ।
२५ सय दर्शक क्षमता रहेको एलओडी अत्याधुनिक प्रविधियुक्त रहेको एलओडीका सदस्यसमेत रहेका ढुंगेलले जनाए ।
पछिल्लो समय नेहाको ‘आँख मारे, काला चस्मा, लन्डन ठुमकरा, दिलबर’लगायत गीत नेपालमा पनि उत्तिकै लोकप्रिय भएका छन् । इन्डियन आइडल सिजन–२ मा प्रतिस्पर्धा गरेकी नेहाले इन्डियन आइडलको १०औं संस्करणमा निर्णायकको भूमिका निर्वाह गरेकी थिइन् ।
उनले जी–टीभिको सारेगमप लिटिल च्याम्प्समा पनि निर्णायकको भूमिका निर्वाह गरेकी छिन् । २००८ मा उनले नेहा दि रक स्टार नामक पहिलो एल्बम निकालेकी थिइन् ।्
दर्जनौँ हिट गीत गाएकी नेहाले काठमाडौंमा दर्जनभन्दा बढी गीत गाउने सञ्चालक ढुंगेलले बताए ।
आयोजकले यसअघि पनि भारतका चर्चित गायक ल्याएको बताएको छ । ‘कुमार सानुको कार्यक्रम काठमाडौं र बुटबलमा गराएको अनुभवले पनि नेहाको कार्यक्रम उत्कृष्ट बनाउने तयारीमा छौं’, जनार्दनले भने, ‘नेपाल र भारतका कालाकारको प्रस्तुति आदानप्रदान गर्ने कार्यक्रम वृद्धि गर्ने हाम्रो योजना छ । भारतमा पनि नेपाली कलाकार लैजाने र भिजिट नेपालका लागि प्रचारप्रसार गर्न सकिन्छ कि भनेर हामी योजना बनाइरहेका छौं ।’
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६