सर्च इन्जिन गुगलले चिनियाँ मोबाइल कम्पनी हुवावेसँगको व्यापार सीमित पारेकाे छ । गुगलले यो निर्णयसँगै गुगल एप्ससँगै जीमेल सेवा हटाएकाे छ । अब हुवावेले उसको प्राविधिक सहयोग र सेवामा पहुँच पाउने छैनन् ।
चीनसँगको व्यापार युद्धबारे अमेरिकी नीतिको समर्थनमा गुगलको पछिल्लो निर्णय आएको हो । गुगलका प्रवक्ताले अमेरिकी सरकारको पछिल्लो निर्णय स्वीकार गर्ने क्रममा रहेको बताएका छन् ।
हुवावेले पछिल्लो निर्णयबारे केही बताएको छैन । बुधवार ट्रम्प प्रशासनले हुवावेईलाई कालो सूचीमा राख्ने निर्णय गर्दै अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाएको थियो ।
रोयटर्सले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै कस्ता कस्ता सेवाबाट ह्वावेईलाई वञ्चित गराइने भन्ने बारे गुगल अझै छलफलरत छ। तर ह्वावेईले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ।
बीबीसीका प्रविधि सम्पादक लियो केलियोन भन्छन् अल्पकालका निम्ति ह्वावेईलाई गुगलको निर्णयले क्षति पुग्नेछ।
उनी भन्छन् - गुगलको प्लेस्टोरमा पहुँच नभएको स्मार्टफोन किन्न उपभोक्ताहरू हिच्किचाउने छन्। तर दीर्घकालमा भने स्मार्टफोन विक्रेताहरूलाई गुगलको अपरेटिङ सिस्टमको भरपर्दो विकल्प निर्माण गर्ने तर्फ गम्भीरतापूर्वक सोच्न यसले बाध्य बनाउन सक्छ।
ह्वावेईको हकमा उसले अमेरिकी प्रविधिबाट आफू वञ्चित हुन सक्ने स्थितिको आकलन गरिसकेको जस्तो देखिन्छ।
उसका स्मार्टफोन आफ्नै स्वामित्व भएका प्रोसेसरबाट सञ्चालित हुँदैछन् तथा गत वर्ष सो कम्पनीका एक वरिष्ठ अधिकारीले छुट्टै अपरेटिङ सिस्टम बनाएको बताएका थिए।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६