म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ।
सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो।
अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए। तिरुपति फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन।
७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ। म्याग्दीका ग्रामीण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ।
सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।
उनका अनुसार प्रत्येक महीनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६