पाल्पाको एक मन्दिरमा मुर्ति हराउने डरले डोकामा बोकेर घर लैजाने र बिहान मन्दिरमा ल्याउने गरिन्छ।
रम्भा गाउँपालिका वडा नम्बर ८ ताँहुमा रहेको रम्भादेवी मन्दिरको मूर्ति प्रत्येक दिन घरमा लगिन्छ । विसं २०३२ मा सुनको जलप लगाइएको रम्भादेवीको मूर्ति मन्दिरबाटै चोरी भएपछि सुरक्षाका लागि पुजारीले मूर्ति बेलुका डोकामा बोकेर घरमा लैजाने र बिहान पुनः मन्दिरमा ल्याउँछन् ।
त्रिचालीस वर्षदेखि बेलुका पूजापाठ सकेपछि मूर्ति बोकेर घरमा लगेर भोलिपल्ट बिहान बोकेर मन्दिर ल्याउने गरिएको पुजारी टीकाराम बस्यालले बताए ।
मन्दिरमा आउने दर्शनार्थी सकिएपछि साँझको पूजाआराधना सकेर मूर्ति तथा शिला डोकोमा बोकेर घरमा लैजाने गरेका छौँ , उनले भने।
मन्दिरका अर्का पुजारी प्रेमनारायण पाण्डेले जङ्गलमा मन्दिर भएकाले राति सुरक्षाका लागि चौकीदार बस्न पनि कोही नमान्ने भएकोले मूर्ति बोकेर घरमा जाने र बिहान ल्याउने उपाय नै उत्तम लागेको बताउँछन् ।
मन्दिरमा एक पुजारी मूर्ति बोकेर पुग्छन् भने अर्काले गाउँमा घरघरै अक्षता उठाउँदै जाने गर्छन् । नेपाल पर्यटन बोर्डले एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत गरेको रम्भापानीको नामले परिचित रम्भादेवी मन्दिर पाल्पाको धार्मिकस्थलमध्ये महत्वपूर्ण मानिन्छ ।
राम र सीताले त्रेता युगमा १२ वर्षे वनवासको क्रममा सो जङ्गलमा आइपुग्दा निकै रमणीय वातावरणमा रमाए पनि पानी नपाएर सीता छट्पटाएपछि रामले जमीनमा वाण हानेर पानी निकाली खुवाएको विश्वास छ ।