काठमाडौं : सरकारले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस साताव्यापी रूपमा मनाउने भएको छ ।
लागुऔषध दुरुपयोग र अवैध ओसारपसार रोक्न आगामी असार ५ देखि ११ गतेसम्म चेतनामूलक कार्यक्रमका साथ सरकारले दिवस मनाउन लागेको हो ।
असार ११ गते अर्थात् जुन २६ मा पर्ने दिवस मनाउन गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख नारायणप्रसाद शर्माको संयोजकत्वमा मूल आयोजक समिति गठन गरी तयारी थालिएको हो ।
संयोजक शर्माले दिवसका अवसरमा गर्न सकिने योगदान र कार्यक्रमका विषयमा विस्तृत विवरण पेश गर्न सम्बद्ध मन्त्रालयका प्रतिनिधि र विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिलाई आग्रह गरेका छन् ।
उनले लागुऔषध नियन्त्रणका विषयमा वर्षभर गर्ने कार्यक्रम पहिचान गर्न र राष्ट्रिय नाराका लागि पाँच दिनभित्र सुझाव दिन छलफलमा सहभागी मन्त्रालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलाई आग्रह गरे ।
गृह मन्त्रालयमा आइतबार बसेको बैठकले दिवसलाई रचनात्मक रूपमा मनाउन प्रदेश सरकार र स्थानीय सरकारलाई अनुरोध गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रमका विषयमा सम्बन्धित सङ्घ संस्था र मन्त्रालयमा समन्वय गर्न गृह मन्त्रालयका उपसचिव झङ्कनाथ ढकालको संयोजकत्वमा तयारी तथा व्यवस्थापन समितिसमेत गठन गरिएको छ ।
सहभागीले स्कुल तथा समुदायलाई केन्द्रित गरेर प्रचारात्मक कार्यक्रम सञ्चालन गरी सञ्चारमाधयाम र सामाजिक सञ्जालमा समेत प्रचारात्मक अभियान चलाउनुपर्ने सुझाव दिएका छन् । मूल समितिको आगामी बैठक भने १० दिनपछि बस्ने छ ।
छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित अभिभावक सङ्घ, अडिटर्स एसोसिएसन, सेभ द चिल्ड्रेनलगायत लागुऔषध नियन्त्रणमा सक्रिय सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।
प्रकाशित मिति: सोमबार, जेठ ६, २०७६