काठमाडौं : सगरमाथा सरसफाइ अभियानको कामसँगै सगरमाथालगायत अन्य हिमालको आरोहणको काम भइरहेको हुँदा समस्या भएको छ । मौसम अनुकूल हुनुपर्ने तथा जनशक्ति अपुग हुँदा तालिमप्राप्त हाई अल्टिच्युड गाइडबाट सहयोग लिनुपर्ने भएकाले आरोहणसँगै सरसफाइ अभियान चलाइएको आयोजकले जनाएको छ ।
सगरमाथा सरसफाइ अभियानको टोलीले सगरमाथा क्षेत्रमा संकलन गरिएको फोहोरको मात्रा सार्वजनिक गरे पनि भेटिएका लासको संख्या भने गोप्य राखिएको छ । सगरमाथा सरसफाइ अभियान आयोजक समितिका एक अधिकारीका अनुसार सयौँ आरोहीहरू अहिले सगरमाथा आरोहणका लागि त्यतातर्फ जाँदै गरेको हुँदा लासको संख्या गोप्य राखिएको हो । उनका अनुसार लासको संख्या सार्वजनिक गर्दा ‘मेन्टल्ली टर्चर’ गर्ने भएकाले गोप्य राखिएको हो ।
आरोहीहरू आरोहण लक्ष्यसहित सगरमाथालगायत हिमालहरूको आरोहणका लागि त्यसतर्फ जाँदै गर्दा पुराना लास त्यस स्थानमा छन् भन्ने खबरले असर गर्ने तथा प्रत्यक्ष प्रभाव राख्ने भएकाले गोप्य राखेर व्यवस्थापन गर्ने एक अधिकारीले बताए ।
सबै पर्यटक तथा आरोही फर्किसकेपछि सगरमाथा आरोहण सरसफाइका तालिम प्राप्त टोलीले लास ल्याउनेछन् । एउटा लास व्यवस्थापन गर्न कम्तीमा १० देखि १२ जनशक्ति आवश्यक भएकाले तालिमप्राप्त आरोहण सहयोगीले पनि व्यवस्थापन गर्न सहयोग गर्ने प्रतिबद्धता यसअघि नै जनाइसकेका छन् ।
धेरै लास भेटिएमा व्यवस्थापन गर्न मुस्किल हुने आयोजकले जनाएको छ । त्यस्तो अवस्थामा सगरमाथा, लोत्से, नुप्चेलगायतका हिमाल आरोहीका सबै तालिम प्राप्त गाइड र हाई अल्टिच्युड पोर्टरले सघाउनेछन् । यो सरसफाइलाई नेपालको एक राष्ट्रिय अभियानको रूपमा लिनका लागि आयोजकले आह्वान गरिसकेको छ ।
उक्त अभियानमा सहयोग गरेर सगरमाथा सफा छ भन्ने सन्देश दिन सबै आरोहण दल र आरोहण दलका तालिमप्राप्त आरोही र आरोहण सहयोगीले गत वैशाख १७ गते सगरमाथा आधार शिविरमा बसेको बैठकबाट प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६