विराटनगर : संघीय संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विरोधमा मोरङका पत्रकारहरु रोएका छन् ।
मोरङका पत्रकारहरूले सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्नेगरी ल्याएको विधेयकको रोएर विरोध गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका पत्रकारहरूले संसदमा पेस गरेको विधेयक हुबहु पारित गरे वास्तवमै रुनुपर्ने अवस्था आउने भन्दै रोदनसहितको विरोध गरेका हुन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरुले डाँको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विधेयक संसदबाट हुबहु पारित भए त्यसले पत्रकार रुने अवस्था आउने भन्दै प्रतिकात्मक विरोधस्वरुप रोएर विरोध गरेको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले बताए ।
विरोध कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेलले पत्रकारिताका आधारभूत पक्ष नै कुण्ठित हुने गरी ल्याइएका विरोधले स्वतन्त्र नेपाली प्रेस नै धरासायी हुने बताए ।
उनले यस्ता विधेयक खारेज या परिमार्जन हुनुपर्नेमा जोड दिए । प्रदेश अध्यक्ष लुइँटेलले प्रेस काउन्सिलको स्वतन्त्रतामै असर गर्ने गरी र पत्रकारलाई जरिवाना लगाउने मनसायका कानुनको विरोधमा नेपाल पत्रकार महासंघ रहेको बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलावल्लव घिमिरेले सरकारले विभिन्न विधेकयमार्फत् प्रेसलाई कस्ने र नियन्त्रण गर्ने गलत मनसाय राखेको आरोप लगाए । उनले प्रेसको स्वतन्त्र हुनुपर्ने प्राकृतिक नियमलाई सरकारले चुनौती दिएको र आफूहरूका लागि मान्य नहुने बताए ।
प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले पत्रकारको लेख्न, बोल्न र दृश्य देखाउन पाउने अधिकारमाथि सरकारले नियन्त्रण गर्न खोेजेको बताए ।
पत्रकारहरूको आन्दोलनमा विभिन्न सामाजिक संघसंस्थाले पनि ऐक्यबद्धता जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६