कञ्चनपुर : निर्माण भएको २४ वर्ष बितिसक्दा पनि कञ्चनपुर फुलेलीका स्थानीयले खानेपानी पाएका छैनन् ।
विसं २०५२ सालमा स्थापना भएको खानेपानी आयोजनाबाट पानी पाउने आशा गरेका फुलेलीबासीसम्म पानी नपुगेपछि आशा निराशामा परिणत भएको छ ।
करिब ८३ लाख रुपैयाँ लागतमा फुलेली खानेपानी आयोजनाले निर्माण सम्पन्न गरेको खानेपानी स्थानीयबासीसम्म नपुग्दा उनीहरु हातेपम्पकै पानी पिउन बाध्य छन् ।
धारामा पानी नआउँदै दुई पटक उद्घाटन गरेको खानेपानीलाई दुई पटक मर्मत गर्दा समेत धारामा पानी नआएको स्थानीय बताउँछन् । शुद्ध खानेपानी पिउने सपना देखेका स्थानीयलाई खानेपानी उपलब्ध नभएपछि अशुद्ध तथा आइरनयुक्त पानी पिउने गरेको स्थानीय लक्ष्मीदत्त जोशीले बताए ।
निर्माण सम्पन्न भएको खानेपानीको बाँध बाढीले बगाएपछि खानेपानी अवरुद्ध भएको जनाइएको छ । खानेपानी आयोजना मर्मतका लागि बर्सेनि बजेट आउँछ भन्ने सुनिए पनि खानेपानी भने नबनेको स्थानीय बताउँछन् ।
फुलेली चुरेमा पर्ने भएकाले हातेपम्पबाट आउने पानी पनि मुस्किलले निस्कने गर्दछ । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले मर्मतका लागि बर्सेनि आउने बजेटबारे आफूले पनि सोधखोज गरिरहेको बताए । बजेटको दुरुपयोग भएको पाइएमा कार्बाही प्रक्रिया अघि बढाउने उनले बताए ।
खानेपानी मर्मतका नाममा रकम दुरुपयोग हुने भएकाले अब त्यसको विकल्पमा भूमिगत खानेपानी आयोजना निर्माणको काम अगाडि बढाइएको र केही वर्षभित्रै आयोजना निर्माणको कार्य पूरा गरी सर्वसाधारणलाई शुद्ध पानी उपलब्ध गराउने उनले बताए ।
दुई सय परिवारलाई लक्षित गरी सुरु गरिएको आयोजना अन्तर्गत ६७ धारा निर्माण गरिएको बताइएको छ । घर नजिकै धारा बनाइँदा सहज रूपमा खानेपानी पाउने आशा गरेका फुलेलीबासी अझै शुद्ध खानेपानी पिउने प्रतीक्षामै छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६