करिब पाँच वर्षअघि मलेसियाको राजधानी क्वालालाम्पुरदेखि चीनको राजधानी बेइजिङतर्फ २२७ यात्रु बोकेर उडेको मलेसियन एयरलाइन्सको जहाज एमएच ३७० अहिलेसम्म पनि गुमनाम छ । सन् २०१४ मार्च ८ का दिन बेपत्ता भएको उक्त जहाज अहिलेसम्म भेटिएको छैन ।
हराएको जहाज खोज्न करोडौं रकम खर्च भइसकेको छ । संसारभरका उद्धार टोली र नयाँ प्रविधि प्रयोग गर्दासमेत जहाजको अवस्था पत्ता लाग्न सकेको छैन । जहाज विमानस्थलबाट उडेको ३८ मिनेटसम्म भएको सञ्चार नै अन्तिम सम्पर्क रह्यो ।
भारतीय महासागरको करिब एक लाख २० हजार वर्गकिमी खोज्दा पनि केही हात लाग्न सकेन। न त प्लेनका ठोस अवशेषहरू भेटिए न कुनै शव फेला पर्यो । बारम्बार खोजी कार्य चालु र बन्द हुने गरेका छन् । तर अहिलेसम्म नतिजा शून्य छ।
उडान क्षेत्रको अहिलेसम्मकै सबैभन्दा रहस्यमयी घटना भनेर परिभाषित गरिएको यो घटनाप्रति विभिन्न अड्कल, समालोचना, आरोप-प्रत्यारोप र ठोकुवाहरू हुने गरेका छन् । पाइलटको मानसिक अवस्था बिग्रेर आत्महत्या गरेकोदेखि लिएर आतंकवादीहरूले अपहरण गरेकोसम्म अड्कलबाजी भएका छन् ।
कसैले कम्बोडियाको जंगलमा प्लेन भेटिएको दाबी गरेका छन् भने कसैले एलियन हरूले अपहरण गरेको भनेका छन् । तर कुनै पनि सिद्धान्तलाई जोड दिने प्रमाणहरू भेटिएका छैनन् ।
सन् २०१५ मा द प्लेन द्याट वाज नट देयरकिताबका लेखक जेफ वाइजले भर्खरै नयाँ खुलासा गरेका छन् । विभिन्न छलफल, अध्ययन र तथ्यहरूका आधारमा उनको ठोकुवा छ कि एमएच ३७० असफल अपहरण प्रयासको शिकार भएको हो।
सबै कुराहरूलाई सूक्ष्म तरिकाले हेर्दा यो निचोड नै सत्यको सबैभन्दा नजिक देखिन्छ । हुन त यो तथ्य पूर्ण सत्य नहोला तर अहिलेसम्म आएका नतिजामा सबैभन्दा मिल्न सक्ने यही नै हो , जेफले भनेका छन् ।
जेफका अनुसार यो सिद्धान्त बलियो देखिनुमा अरु अड्कलहरू कमजोर हुनु पनि हो । सबैभन्दा बढी ठोकुवा गरिएको प्राविधिक गडबडीको कुरामा पनि यकिन गर्न सकिँदैन । किनकि प्लेनको प्रणाली सुरुमा बन्द भए पनि एकछिनपछि चालु भएको थियो । अझ जहाज र सेटेलाइट ३ एफ वानको सम्पर्क हेर्दा जहाज एकपटक आफ्नै दिशामा फर्केर अर्को दिशातर्फ गएको देखिन्छ । प्लेनको इन्जिनमा गडबडी आएको भए त उतिखेरै खस्नु पर्ने वा दुर्घटना हुनु पर्ने। तर त्यसो नभई प्लेन उत्तरी पूर्व (निर्धारित दिशा) नगई उल्टो पश्चिमी दिशातर्फ गएको देखिन्छ।
जेफ वाइज भन्छन्,पाइलटको आत्महत्याको सिद्धान्त पनि कमजोर देखिन्छ । यदि पाइलटलाई आत्महत्या नै गर्नु थियो त उसले नजिकैको दक्षिण चिन समुद्र रोज्थ्यो वा प्यासेफिक महासागरमै जहाज खसाल्थ्यो ।
जेफका अनुसार पाइलट जहारी अहमद शाहमा आत्महत्या गर्न सक्ने प्रवृत्ति केही थिएन । उनमा केही मनोरोग थिएन । जहाजको उडान पक्ष दोहोर्याएर (सिम्युलेटर) हेर्दा पनि पाइलटले त्यस्तो छेडखानी गरेको केही देखिँदैन। त्यसैले पाइलटको आत्महत्या सिद्धान्त सोझै फेल खान्छ ।
यात्रु मध्यका कसैले जहाजको विद्युतीय उपकरणहरूमाथि छेडखानी गरेर सेटेलाइटको रेडारबाट लुकाएको हुन सक्ने सम्भावना पनि उत्तिकै छ। प्लेन त्यसपछि कजाकस्तानतर्फ उडेको हुन सक्छ र रसिया नियन्त्रित विमानस्थलमा अवतरण गरेको हुन सक्छ ।
संयोगवश यो घटनाको चार महिनापछि दोस्रो मलेसियन जहाज बोइङ ७७७ लाई युक्रेन नजिकै आक्रमण गरेर खसालिएको थियो । रसियाली समर्थनमा रहेका विद्रोहीहरूको रसियाली मिसाइल आक्रमणमा परी करिब दुई सय ९८ जना यात्रुको मृत्यु भएको थियो । जेफ वाइजका अनुसार एमएच ३७० ले पनि त्यस्तै आक्रमण बेहोरेको हुन सक्छ । यसलाई बढावा दिने प्रमाणहरूमा एमएच ३७० को यात्रु सूची हो । जसमा ३ रसियाली थिए । जसमध्ये २ जनाले युक्रेनी राहदानी बोकेका थिए।
यसबाट पुटिनले के लक्ष्य हासिल गर्न खोजेका थिए भन्न सकिँदैन तर जहाज दुर्घटनाको एक दिनअघि अमेरिकाले रसियामाथि लगाएको दण्डात्मक प्रतिबन्ध यसको प्रमुख कारण हुन सक्छ । अमेरिकाका मित्र राष्ट्रहरूमाथि हमला गरेर सायद जवाफ फर्काउने नियत हुन सक्छ पुटिनको , वाइजले थपे।
जेफ वाइजले यी कुराहरूको खुलासा गर्दैगर्दा अर्को खुलासामाथि पनि बहस पु:न सुरु भएको छ । मलेसियन नागरिक राजा दलेलह राजा लतिफका अनुसार उनले आफू चढेको जहाजबाट दुर्घटनाग्रस्त जहाजका अवशेषहरू देखेकी थिइन् । एमएच ३७० हराएकै दिन उनी साउदी अरेबियाबाट आफ्नो देश मलेसिया फर्किंदै थिइन् । एन्डामान द्वीप वरपर आउँदा उनले जहाज डुबिरहेकोजस्तो देखिन् ।
म रातभर निदाएको थिइनँ । बिहानको कुरा हो यो । झ्यालबाहिर हेर्दै बसिरहेको थिएँ । अनि मैले जहाजजस्तो आकृति देखेँ । त्योभन्दा अघि पनि मैले थुप्रै पानीजहाज र द्वीपहरू हेर्दै बसिरहेको थिएँ । पछि त्यो डुबेकोजस्तो हवाइजहाज देख्दा म झसंग भएँ , उनले भनेकी छिन् ।
मलेसिया फर्केको अर्को दिन नै उनले प्रशासनलाई खबर पुर्याइन् तर कसैले वास्ता गरेनन् । अहिले अन्वेषक आन्द्रे मिल्नेले यो ठोकुवामा केही प्रमाणहरू भेटिएको बताएका छन् ।
प्रत्यक्षदर्शीको यो ठोकुवामाथि केही पाइलटहरूले भने असहमति जनाएका छन् । प्लेनहरू करिब ३५,००० फिटको (करिब १०.६ कि.मी) उचाइमा उड्ने र त्यति उचाइबाट प्लेनका अवशेषहरू देखिनु असम्भव रहेको उनीहरूले बताए । तर केही नयाँ भू-उपग्रहीय डेटाहरूले लातिफको यो ठोकुवा सही हुन सक्ने सम्भावना देखाएका छन् ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६