काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँच दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ।
महासंघ र सरकारबीच भएको सहमति अनुसार संस्था दर्ता ऐन २०३४ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासंघका सदस्यलाई पाँच दिनभित्र कम्पनी दर्ता गरिसक्न महासंघले आग्रह गरेको हो।
महासंघले सूचना प्रकाशित गरी कम्पनी दर्ता ऐन अनुसार कम्पनी दर्ता गर्न आग्रह गरेको हो।
महासंघका महासचिव सरोज सिटौलाले सरकार र महासंघबीच भएको सहमति अनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए। “पाँच दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासंघले लिँदैन”, उनले भने।
देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन्। -रासस
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६