अछाम : अछामको मंगलसेन नगरपालिका वडा नं. ५ स्थित नगरपालिका कार्यालयको परिसरमा पार्किङ गरी राखिएको गाडी आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ३१ गते राति २ बजे कार्यालयको बा.२ झ.३६९४ नम्बरकाे फोर्ड कम्पनी इन्डोभर गाडीमा आगजनीमा संलग्न मंगलसेन नगरपालिका वडा नं. १ कुन्तिबण्डालीका १९ वर्षका दीपेन्द्र जैगडी र सोही ठाउँ बस्ने १९ वर्षका एकेन्द्रराज नाथलाई पक्राउ गरी आवश्यक अनुसन्धानक लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।
पक्राउ परेका २ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजीमा प्रहरी परिचालन भइरहेको पनि जनाइएको छ ।
नगरपालिकाले पनि ५ सदस्यीय छानविन समिति बनाएर यो घटनाको अनुसन्धान गरिरहेको मंगलसेन नगरप्रमुख पदमबहादुर बोहराले बताए ।
नगरपालिकाको गाडीमा गएको वैशाख ३१ गते राति सवा २ बजे आगजनी गरिएको थियो । यो गाडी नगरपालिकाले गएको वर्ष १ करोड २० लाख लागतमा खरिद गरेको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६