पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । तीन खेलको प्रतिबन्धपछि खेलमा फर्किएको युवा स्टार केलियन एमबाप्पेले दुई गोल गरेसँगै डिजोनलाई ४-० अन्तरले हराएकाे हाे । एन्जल डि मारिया र एडिन्सन काभनीले समान १ गोल गरे ।
खेलको तेस्रो मिनेटमै पीएसजीले एन्जल डि मारियाको गोलबाट अग्रता बनाएको थियो । उनले जुलियन ड्राक्सलरको पासमा गोल गरेका थिए । त्यसको एक मिनेट पछि नै इडिन्सन काभनीले गोल गरेपछि पीएसजीले सुरुमै २–० को अग्रता बनायो ।
एकपक्षीय बनेको खेलको ३६औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पीएसजी पहिलो हाफमा ३–० को अग्रता लिन सफल भएको थियो । एमबाप्पे ३ खेलको प्रतिबन्धपछि खेलमा पुनरागमन गरेका हुन् ।
५६औं मिनेटमा एमबाप्पेलाई व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ४–० को फराकिलो जित दिलाए । दुई गोलगरेसँगै एमबाप्पे गोल्डेन बुटको लागि बार्सिलोनाका लियोनेल मेस्सीभन्दा २ गोल पछाडि उभिएका छन् ।
लिग वान च्याम्पियन बनिसकेको पीएसजीले जितसँगै ३७ खेलबाट ९१ अंक पुगेको छ । पराजित डिजोन ३१ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६