भद्रपुर : पूर्वी नाका काँकडभिट्टास्थित मेची नदीमा निर्माणाधीन मितेरी पुलको खाल्डोमा डुबेर मृत्यु भएका मेचीनगर–६ का आठ वर्षीय बालक शेखराज गेलालको परिवारलाई क्षतिपूर्ति दिलाउने सहमति भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार नेपाल–भारत सिमानामा खेल्दै पुगेका गेलालको एशियन हाइवेअन्तर्गत निर्माणाधीन मितेरी पुलको खम्बा गाड्न खनेको खाल्डोमा डुबेर शुक्रबार साँझ ५ बजेतिर मृत्यु भएको थियो ।
शनिबार मेचीनगर नगरपालिकाका भएको सर्वदलीय बैठकले मृतकको परिवारलाई पुल निर्माणमा संलग्न भारतीय ठेकेदारबाट १० लाख क्षतिपूर्ति र ५० हजार तत्काल काजकिरिया खर्च उपलब्ध गराउने निर्णय भएको उपप्रमुख मीना उप्रेतीले बताइन् ।
उक्त निर्णयपश्चात् मृतकका परिवारले शव परीक्षणका लागि मञ्जुरी दिएका छन् । शुक्रबारदेखि बालकको शव मेची अञ्चल अस्पतालमा राखिएको थियो ।
प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६