भक्तपुर : भक्तपुर नगरपालिका र नेपाली सेनाबीच विभिन्न चरणमा भएका छलफलपश्चात् भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित ऐतिहासिक रानीपोखरी सर्वसाधारणको लागि खुला गर्ने तथा भनपा १ स्थित सिद्धपोखरी उत्तरतर्फको खेल मैदान स्थानीयको लागि खेलकुद प्रयोजनको लागि खुला गर्ने विषयमा सहमति भएको छ ।
सहमतिअनुसार उक्त रानीपोखरी के–कति क्षेत्रफलमा फैलिएको छ भनी यकिन गर्न नगरपालिका र नेपाली सेनाले समन्वय गरी नाप–नक्सा गर्ने, नाप नक्सापछि प्राप्त प्रमाणको आधारमा भक्तपुर नगरपालिकाले जीर्णाेद्धार गर्ने भएको छ । उक्त पोखरी जीर्णाेद्धारसँगै त्यहाँ भेटिएका पुरातात्विक वस्तुहरूको संरक्षण र भग्नावशेषको रूपमा रहेको पाटीको पुनःनिर्माण पनि नगरपालिकाले गर्ने भएको छ ।
रानीपोखरी जीर्णाेद्धारपछि सुरक्षाको उचित व्यवस्था मिलाई पोखरीलाई चारैतिर पर्खालले घेरेर पोखरीको दक्षिण सल्लाघारी, दूधपाटी बाटोतर्फ प्रवेशद्वार बनाई बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सर्वसाधारणको लागि खुला गरिने भएको छ ।
रानीपोखरी अवलोकन गर्न आउनेका लागि सवारीसाधन पार्किङस्थल सल्लाघारीको खाली जमिनमा नगरपालिकाले निर्माण गर्ने भएको छ ।
त्यस्तै सिद्धपोखरी उत्तरतर्फको खेल मैदानको चारैतिर जालीबारले घेरी मैदानको दक्षिणतर्फ प्रवेशद्वारको व्यवस्था गरी उक्त खेल मैदान स्थानीयको लागि हरेक दिन बिहान ७ः३० बजेदेखि ११ः३० बजेसम्म ४ घण्टा खुला गर्ने र शनिबारको दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला हुने भएको छ ।
सैनिक महाविद्यालय बन्द रहेको र आवासीय विद्यार्थीहरू बिदामा रहेका दिनमा बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म स्थानीयको लागि खुला हुने स्रोतले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६