काठमाडौं : नेपाली कांग्रेसले देशैभर जिल्ला सदरमुकाममा कार्यक्रम गर्दै गत वैशाख २५ गते ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस’ मूल नारा सहित जागरण अभियान शुरु गर्यो । प्रतिपक्षीका रुपमा कमजोर र आन्तरिक असन्तुष्टिमा रुमल्लिँदा निरिहजस्तै बनेको कांग्रेसले जागरण अभियानले पार्टी जीवनमा नयाँ रक्तसञ्चार हुने विश्वास लिएको छ । पहिलो चरणअन्तर्गत अहिले पनि गाउँ र क्षेत्रीय तहमा जागरणका कार्यक्रमहरु चलिरहेको छ । कांग्रेसले खटाएका केन्द्रीय प्रतिनिधिहरु अहिले पनि गाउँगाउँमा पुगेर कार्यक्रममा जुटिरहेका छन् ।
केही जिल्लामा सामान्य समस्या देखिएपनि कांग्रेसको पहिलो चरणको जागरण अभियान सफलताका साथ अघि बढिरहेको बताउँछन्, प्रवक्ता विश्वप्रकाश शर्मा । अहिले देशका अधिकांस जिल्लाका गाउँगाउँमा हरेक दिन ५० देखि ७० ठाउँमा कार्यक्रम भइरहेको उनले बताए । कतै जेठ २ देखि २२गतेसम्म त कुनै जिल्लामा जेठ ७ देखि २२ गतेसम्म गाउँ र क्षेत्रीयस्तरमा जागरण्मा अभियान सञ्चालन हुने प्रवक्ता शर्माले जानकारी दिए ।
सरकारप्रति जनता निराश पाएँ : उदय शमशेर राणा
जागरण अभियानका क्रममा खोटाङ खटाइएका कांग्रेस नेता, पुर्वअर्थराज्यमन्त्री उदयशमशेर राणा जागरणले कांग्रेसमा नयाँ जागरण ल्याएको बताउँछन् । ‘कांग्रेस आफैमा कमजोर होइन । पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई कजोर बनाएको हो,’ खोटाङका गाउँ गाउँ पुगेपछि कार्यकर्ताहरुले दिएको सुझावबारे उनले भने, ‘ त्यसकारण गुटको अन्त्य हुनुपर्छ र यसको शुरुवात नेतृत्व तहबाटै हुनुपर्छ भन्ने कांग्रेस कार्यकर्ताको मात्र होइन आम लोकतन्त्रपक्षधरहरुको चाहना रहेको पाएँ ।’
अहिलेको सरकारको कार्यशैली र सेवा प्रवाहप्रति जनता खुशी नभएको पनि उनले बताए । सपना देखाउनले तर काम नगर्ने शैलीका कारण जनतामा चरम निराशा पनि आफुले जागरणका क्रममा महसुस गरेको उनले सुनाए । ‘सर्वसत्तावादतिर अघि बढिरहेको सरकारलाई सही बाटोमा ल्याउनका लागि कांग्रेस एकढिक्का भएर अघि बढोस् भन्ने आम नागरिकको चाहना रहेको पाएँ,’उनले भने ।
गाउँ गाउँमा उत्साह छ : महेन्द्र शर्मा
जागरण अभियानको सिलसिलामा बझाङ जिल्लामा खटिएका छन्, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्र शर्मा । कांग्रेसका पुर्व केन्द्रीय सदस्य समेत रहेका शर्माजागरण अभियान शुरु भएको वैशाख २५ गते देखि बझाङमै छन् । शनिबार बझाङमै रहेका उनले आजको न्युजसँग टेलिफोनमा कुरा गर्दै बझाङका ३ वटा स्थानीय तहमा कार्यक्रम सम्पन्न गरिसकेर आज चौंथो स्थानीय तहको कार्यक्रममा रहेको बताए । ‘यार्सागुम्बा टिप्न जाने समय पनि यो रहेछ । खेतमा गहुँ काट्ने र धानको ब्याड राख्ने समयकाे बाबजुद पनि हाम्रा कार्यक्रमहरुमा उत्साहजनक उपस्थिती देखिएको छ,’ नेता महेन्द्र शर्माले भने,‘कांग्रेस पार्टीमार्फत नै देशलाई समृद्ध बनाउने सपना बोकेर हिँडेका हामीजस्ता मानिसहरुलाई समेत यो जागरण अभियानमा भेटिनुभएका बझाङका जनताबाट प्रेरणा मिलेको छ । सामान्य मानिसहरु समेत कांग्रेसप्रति अत्यन्तै सकारात्मक पाएको छु ।’ शर्माले गाउँ गाउँमा भेटिएका कांग्रेस नेता,कार्यकर्ताहरुको पार्टीका विषयमा साझा धारणा नै रहेको बताए । पार्टीका नेताहरु नमिलेको खबर सुन्न नपरोस्, पार्टी एकतावद्ध भएर अघि बढोस् भन्ने आफुहरुको सुझाव पार्टी केन्द्रमा पुर्याइदिन गाउँका कार्यकर्ताहरुले आग्रह गरेको पनि शर्माले सुनाए ।
‘सबैको कुरा सुनिरहेको छु । कांग्रेस गाउँमा आइदिओस्, जनताका सुखदुखमा सहभागि भइदेओस् भन्ने नै जनताको चाहना छ,’ शर्माले भने । उनले बझाङका १२ वटै स्थानीय तहमा जागरण अभियान सकेर मात्र आफु फर्कने बताए । बझाङका धेरै स्थानीय तहमा थोरै मतान्तरले मात्र कांग्रेस निर्वाचन हारेकाले गुटबन्दीले समस्या पारेको भन्दै जागरण अभियानले त्यस्तो गुटबन्दी अन्त्य गर्दै कांग्रेसलाई अब मजबुत बनाउने शर्माले विश्वास व्यक्त गरे ।
मधेसमा कृषक र महिलाको उत्साहजनक साथ : डिना उपाध्याय
प्रदेश नम्बर २ को महत्वपुर्ण जिल्ला मानिन्छ, सर्लाही । कांग्रेसले जागरण अभियानका लागि केन्द्रीय सदस्य नेतृ महालक्ष्मी ‘डिना’ उपाध्यायलाई सर्लाहीमा खटाएको छ । अहिले उनी २० वटा स्थानीय तह रहेको सर्लाहीको गाउँ गाउँमा पुगिरहेकी छन् । गाउँगाउँ पुग्दा मधेसमा कांग्रेसप्रति जनलहर देखिएको उनले बताइन् । मधेसवादी दलप्रति सर्लाहस्का जनता असन्तुष्ट रहेको र कांग्रेस प्रवेशकाे लहर नै चलेको उनले बताइन् । अझ कार्यक्रममा किसान र महिलाको उपस्थितीले उनी निक्कै हौसिएकी छन् । ‘सरकारले किसानका समस्या नसुन्दा उनीहरु सरकारसँग निक्कै रुष्ट पाएँ । जागरणका कार्यक्रमममा कृषक र महिलाको उत्साहजनक उपस्थिती छ । यत्रो महिला आउँछन् भन्ने मैलै नै सोचेको थिइन । कार्यक्रममा पुरुष भन्दा महिला धेरै सहभागि भएका छन्,’ सर्लाहीमै रहेकी उनले भनिन्, ‘ जनताको यहि उत्साहलाई जोगाउनसक्ने हो भने आउँदो निर्वाचन कांग्रेसले मधेसमा स्वीप गर्छ । नेकपा र राजपाका कार्यकर्ताहरु कांग्रेसमा प्रवेशको लहरनै चलेको छ ।’
उनले २० वटै स्थानीय तहमा पसुग्ने गरि कार्यक्रम बनाइएको बताइन् । आफुले कार्यक्रममा संविधानले सुरक्षित गरेका महिला अधिकारका कुरा र किसानका समस्याबारे प्राथमिकताका साथ धारणा राख्ने गरेको पनि सुनाइन् । ‘गाउँ गाउँ पुग्दा सबैको आशा कांग्रेससँगै रहेको पाएँ । कांग्रेस गुटउपगुटको विवादमा नअल्झोस् । सांगठनिक सुधारमा लागोस् भन्ने नै उहाँहरुको चाहना छ,’ नेतृ उपाध्यायले भनिन् ।
गाडी स्टार्ट भयो, अब गति समात्छ
विश्वप्रकाश शर्मा
प्रवक्ता,नेपाली कांग्रेस
कांग्रेसको जागरण अभियान शुरु भएपछि राम्रो प्रतिक्रिया आएको छ । हरेक दिन ५० देखि ६० वटा गाउँमा कार्यक्रम भइरहेको छ । गाउँतह र क्षत्रीयस्तरमा अहिले जागरणका कार्यक्रम जारी छ । कांग्रेस कार्यक्रमविहिनजस्तो थियोे । यो जागरण अभियानले कार्यक्रमविहिनताको अवस्था तोडिएको छ । पहिला ड्राइभरमात्र कुदेजस्तो देखिन्थ्यो । तर, गाडी नदौडिएको अवस्थामा थियो । ड्राइभर अर्थात नेता मात्र कुदेर हुँदैन पार्टीनै कुद्नुपर्छ भनेर जागरण अभियान मार्फत पार्टीको सबै तहलाई क्रियाशिल बनाइएको छ । अहिले ड्राइभर मात्र दौडेको छैन गाडी पनि स्टार्ट भएको छ । जागरण अभियानको दोस्रो चरण पुग्दा गाडीले गति लिन्छ र तेस्रो चरणमा पुग्दा यो राजमार्ग (हाइवे)मा निस्कन्छ ।
शर्मा,उपाध्यायमात्र होइन जागरण अभियानमा गाउँ पुगेका सबैजसो नेताहरुको अनुभव उस्तै छ । कांग्रेस कार्यकर्ता र शुभेच्छुकको उस्तै सुझाव छ, कांग्रेस गुटउपगुटबाट बाहिर निस्कियोस् , पार्टी एकता मजबुत बनोस् ।
अभियान अझै जारी छ..
यस्तै, दोस्रो चरणअन्तर्गत २४ भदौबाट १० असोजसम्म अभियान चलाइने प्रवक्ता शर्माले जानकारी दिए । दोस्रो चरणअन्तर्गत मुलुकका सबै प्रदेशस्तरीय निर्वाचन क्षेत्रहरूमा कार्यक्रम गरिनेछ । सो कार्यक्रममा समेत केन्द्रीय तहका नेताहरू सहभागी हुनेछन् । यसैगरी, तेस्रो चरणको अभियान ७ पुसबाट १६ गतेसम्म गरी १० हुनेछ । यस चरणमा सबै स्थानीय तहमा जनजागरण अभियान हुने कांग्रेसले जनाएको छ । कांग्रेसले अभियानकै क्रममा सरकारका गलत क्रियाकलापविरुद्धमा आफ्ना नेता कार्यकर्तासहितका मतदाताहरूलाई सचेत बनाउने, कार्यकर्ताका मनोबल उच्च बनाउने र सरकारका गलत कामकारवाहीको भण्डाफोर गर्ने जनाएकाे छ ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६