भरतपुर : सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्येको एक पटिहानीमा पर्यटन प्रहरी परिचालन गरिने भएको छ ।
भरतपुर महानगरपालिका–२२ वडा कार्यालयको पुरानो कार्यालय रहेको स्थानमा पर्यटन प्रहरी कार्यालय राख्न लागिएको हो । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले यही जेठ १० गते उक्त कार्यालय शुभारम्भ गरिने जानकारी दिइन् ।
उनले पर्यटन प्रहरी रहेसँगै आन्तरिक र बाह्य पर्यटकले सुरक्षित महसुस गर्ने र यसबाट पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको बताइन् ।
वडा नं २२ का अध्यक्ष विष्णुराज महत्तोले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ प्रहरी रहने बताए । पश्चिम चितवनको यस क्षेक्रमा अहिले तीन वटा तीन तारे होटल सञ्चालनको त्रममा रहेका, पाँच वटा ठूलो होटल सञ्चालन भइरहेका र साना दुई दर्जनको हाराहारीमा होटल रहेको उनले जानकारी दिए । ती होटलमा पाँच सय पाहुनाको क्षमता छ ।
अहिले यस क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा अघिल्ला वर्षको तुलनामा २५ प्रतिशले वृद्धि भएको पर्यटन व्यवसायीले बताएका छन् । पर्यटन व्यवसायी गणेश पौडेलका अनुसार अहिले पर्यटकको चाप बढ्दै गएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिकै रहेको पटिहानी दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडा, पाटेबाघलगायत वन्यजन्तु अवलोकनका लागि उत्तम स्थान रहेको उनले बताए ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६