कञ्चनपुर : तरकारी बिक्री गरेर आएको रकम जम्मा गरी कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ सुन्दरीफाँटाका गयाप्रसाद चौधरीले पक्की घर बनाउन थालेका छन् ।
सात वर्षदेखि व्यावसायिक तरकारी खेतीमा संलग्न चौधरीले वार्षिक तीन लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । उनको खेतमा बोडी, काँक्रा, लौका, रामतोरिया, फर्सी र खुर्सानी लटरम्म फलेको छ । हिउँदमा मात्रै खेतमा फलेको तरकारी बिक्री गरेर उनले एक लाखभन्दा बढी आम्दानी गरेका थिए ।
मजदुरी गरेर विगतमा दैनिक मुस्किलले तीन सय रुपयाँ ज्याला पाइन्थ्यो , उनले भने, ‘त्यो ज्यालाको रकमले घरखर्च चलाउनै मुस्किल थियो, तरकारी खेती गर्न थालेपछि विगतका दुःखका दिन बिर्सेका छौं ।’ उनले थपे, ‘तरकारी बेचेको रकमले घरखर्च सहज रुपमा चलाई पक्की घर बनाउन थालेको छु । यो सबै तरकारी बिक्री गरेर आएको रकमले सम्भव बनाएको हो ।’
गयाप्रसाद मात्रै गाउँमा तरकारी खेती गर्ने एक्ला किसान भने होइनन् । गाउँमा बसोबास गर्ने एक सय ४० परिवारमध्ये ७५ परिवार तरकारी खेतीमा संलग्न छन् । तरकारी खेतीमा संलग्न सबै जनाले पाँचदेखि दस कठ्ठा जग्गामा तरकारी खेती गरेका छन् । सबैभन्दा बढी कलावती चौधरीले हिउँदमा सय क्विन्टलभन्दा बढी गोलभेँडा मात्रै बेचिन् । गोलभँेडा बेचेर एकै मौसममा तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हात परेको उनले सुनाइन् ।
अहिले काँक्रा मात्रै २० क्विन्टल बिक्री भइसकेको उनले बताइन् । ‘यो वर्ष काँक्रा धेरै फल्यो’, उनले भनिन्, ‘४० हजारको काँक्रा बिक्री भइसक्यो । अझै खेतमा ५० हजारको काँक्रा होला, त्यो बिक्री गर्न बाँकी छ ।’
दुई छोरी र एक छोराको उच्च शिक्षा अध्ययनको खर्च तरकारी खेतीले धानिँदै आएको उनले बताइन् । चौधरी परिवारले घडेरीका लागि तरकारी खेतीको कमाइबाटै कलुवापुरमा ५० हजार मूल्य पर्ने जग्गा जोडेका छन् ।
तरकारी खेतीबाट छिमेकीले आम्दानी गरेको देखेर श्रीराम चौधरीले समेत पाँच कठ्ठा जग्गामा तरकारी खेती गर्न थालेका छन् । खेतमा अन्नबाली लगाइसकेपछि भारतमा कमाइका लागि जाने गरेका चौधरीले छिमेकीले तरकारी खेतीबाटै लाखौं कमाउन थालेको देखेपछि त्यसकै सिको गर्दै तरकारी खेतीलाई निरन्तरता दिँदै आएको बताए ।
तीन वर्षदेखि तरकारी खेती गर्दै आएका चौधरीले वार्षिक रुपमा एक लाख ७५ हजारदेखि दुई लाखसम्म आम्दानी गर्दै आएका छन् । ‘भारतमा काम गरेर घर आउँदा २० हजार जति मात्रै कमाइ हुने गरको थियो’, उनले भने, ‘तरकारी खेतीबाट त्यसभन्दा छ गुणा बढी आम्दानी हुन थालेको छ । तरकारी किन्नुपरेको छैन ।’
तरकारी खेतीबाट आम्दानी हुन थालेपछि भारत र वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकतर्फ युवा पलायन हुने क्रमसमेत रोकिएको छ । गाउँका युवा खेतमै पौरख गरेर तरकारी फलाई आत्मर्निभरतातर्फ उन्मुख भएको समाजसेवी मायाराम चौधरीले बताए ।
तरकारी खेतीमा संलग्न धेरै जनाले आधुनिक तरिकाले खेती गर्नका लागि तालिम लिएका छन् । तरकारी खेतीमा रोगकीराको समस्या देखापरे मोबाइलबाटै जेटिएलाई फोन गरेर समाधानका उपायबारे जानकारी लिने गरेका छन् ।
तरकारी खेतीमा संलग्न किसानका बालबालिका काठमाडौँ, धनगढी र महेन्द्रनगर लगायतका सुविधा सम्पन्न कलेज र विद्यालयमा पढ्दै आएका छन् ।
सिँचाइका लागि तरकारीमा संलग्नहरूले आफ्नै लगानीमा स्यालो ट्युवेल जडान गरेका छन् । उत्पादित तरकारी गोरु गाडा, मोटरसाइकल र अटोमा राखेर बजारसम्म पुर्याएर बेच्दै आएका छन् । सडकको बिगँ्रदो अवस्थाका कारण वर्षातका बेला तरकारी ढुवानीमा निकै सास्ती व्यहोर्नु परेको बालकिसन चौधरीले बताए ।
तरकारी खेतीमा लागेकाको जग्गा ऐलानी हुँदा बैंकलगायतका वित्तीय संस्थाबाट ऋण नपाउँदा तरकारी खेतीलाई विस्तार गर्न र अझै बढी आधुनिक बनाई बढी उत्पादन लिनबाट वञ्चित छन् ।
अधिकांशले गाउँका कृषि समूह र महिला समूहबाट ऋण लिई तरकारी खेतीका लागि आवश्यक रासायनिक मल, कीटनासक, बीउ र कृषि औजार खरिद गर्दै आएका छन् ।
सुन्दरीफाँटा गाउँका बासिन्दाले वार्षिक रुपमा ६० लाखभन्दा बढीको तरकारी उत्पादन गर्दै आएका बताइएको छ । –रासस
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६