काठमाडौं : नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि कायम हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ ।
पेट्रोलको साविक मूल्यमा प्रतिलिटर दुई र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य घटाएर समायोजन गरिएको आयल निगमले जनाएको छ ।
हवाई इन्धन र एलपी ग्यासको हकमा खुद्रा बिक्री मूल्य यथावत् रहेको निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । नयाँ मूल्यअनुसार काठमाडौँको खुद्रा बिक्री मूल्य पेट्रोलमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलमा ९७ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बिहीबार मूल्य घटेर आएकाले मूल्य विश्लेषण गरी समायोजन गरिएको उनले जानकारी दिए ।
समायोजनपश्चात् भारतको रक्सौलभन्दा नेपालको वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ६७ पैसा र डिजेलमा १६ रुपैयाँ ६४ पैसा सस्तो भएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६