भोजपुर : आगलागीबाट घरबार गुमाएका भोजपुर नगरपालिका–९ बरबोटका बखतबहादुर श्रेष्ठ र उनको घरमा डेरामा बस्नेहरूलाई संकलित रकम प्रदान गरिएको छ ।
उद्योग वाणिज्य संघको पहलमा शुक्रबार संकलन गरिएको एक लाख २६ हजार दुई सय रुपैयाँ पीडित परिवारलाई प्रदान गरिएको संघकी कार्यालय सचिव मीना कार्कीले बताइन् । उनका अनुसार घरबार गुमाएका बखतबहादुरलाई ६३ हजार एक सय रुपैयाँ प्रदान गरिएको छ ।
यसैगरी आगलागीबाट डेरामा रहेका सबै सामग्री गुमाएका डेरावाला र छिमेकका गरी १० जनालाई पनि जनही छ हजार तीन सय सय १० रुपैयाँका दरले ६३ हजार एक सय रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालय सचिव कार्कीले जानकारी दिइन् ।
राहत पाउनेहरूमा डेरामा बस्दै आएका सुजाता राई, गंगा यादव, प्रेम राई, राधिका राई, स्मृति राई, सूर्य राई, प्रतीक्षा राई, चाहना राईका साथै आगलागीबाट क्षति पुगेका छिमेकी चन्द्रकुमार श्रेष्ठ र राजकुमार राई छन् ।
पीडित परिवारलाई उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष कर्ण मोक्तान, महासचिव नवीन प्रधान, पूर्वअध्यक्ष डम्बरकुमार श्रेष्ठ लगायतले राहत रकम प्रदान गरेका हुन् ।
प्रकाशित मिति: शनिबार, जेठ ४, २०७६