काठमाडौं : चर्चित मिथिला चित्रकार रञ्जु यादव राष्ट्रिय ललितकला पुरस्कार–२०७६ बाट पुरस्कृत भएकी छिन् ।
बिहीबार सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ को उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले चित्रकार यादवलाई उक्त पुरस्कार हस्तान्तरण गरे ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने लोककला विधाअन्तर्गतको राष्ट्रिय ललितकला पुरस्कार चित्रकार यादवलाई दिइएको हो ।
राष्ट्रिय ललितकला प्रदर्शनी–२०७६ मा सहभागी ‘छोरी बचाउ, छोरी पढाउ’ शीर्षकको यादवको मिथिला चित्र उत्कृष्ट भएर उनलाई ६० हजार राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
सप्तरीको राजविराज–१०, दिघवा निवासी यादव हाल काठमाडौंमा बसी व्यावसायिक चित्रकला क्षेत्रमा विगत ६ वर्षभन्दा बढी समयदेखि साधनारत हुनुहुन्छ ।
भारत र बंगलादेश भ्रमण गरेकी र एक दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा सहभागी भइसकेकी यादवको गत चैत्र महिनामा काठमाडौंमा एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो ।
लोककला विधा अन्तर्गतकै विशेष पुरस्कार सिरहाका हरेराम यादव र कैलालीका मिठ्ठु थारु गरी दुई जनालाई प्रदान गरिएको छ ।
यस्तै, यस विधाअन्तर्गतकै प्रदेश विशेष पुरस्कार धनुषाकी रेमनी मण्डललाई प्रदान गरियो । विशेष पुरस्कार र प्रदेश पुरस्कारको राशि जनही २५ हजार छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०७६